सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकाका ६ जना जनप्रनिनिधीकै घरमा शौचालय नभएको खुलेको छ । सरसफाइ अभियानलाई तीब्रता दिन आयोजना गरिएको वार्ड वास सीसी पुनर्गठन तथा खुला दिसामुक्त अभियान र हात धुने गोष्ठीमा छलफलका क्रममा जनप्रतिनिधीको घरमा समेत शौचालय नभएको पत्ता लागेको हो ।
चर्पी भएको र नभएको घर गणना गर्ने क्रममा एक जना सहभागीले जनप्रतिनिधीको घरमा त चर्पी छैन, हामीले किन अगाडि बनाउनुप-यो भनेपछि पोल खुलेको थियो । त्यसपछि चर्पी बनाउन बाँकी जनप्रतिनिधीले चर्पी नभएको स्वीकारेका थिए ।
यी हुन् घरमा चर्पी नभएका जनप्रतिनिधीहरु
वडा नं. १३ की वडा सदस्य जिवदेवी पासवान
वडा नं. १४ की वडा सदस्य केवला देवी
वडा नं. १४ की वडा सदस्य बिप्ती देवी मुखिया
वडा नं. १४ की वडा सदस्य शनिदेवी राम
वडा नं. १५ का वडा सदस्य गगनदेव महरा
वडा नं. १५ की वडा सदस्य रुपकली देवी पासवान
उनीहरुलाई १५ दिन भित्र शौचालय बनाउने प्रतिबद्धता पत्रमा हस्ताक्षर गराएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष गजेन्द्र शाहले जानकारी दिनुभयो ।
तोकिएको समयभित्र चर्पी नबनाएमा जनप्रतिनिधीहरुलाई कुनै पनि बैठकमा नबोलाउने र उनीहरुको सेवा सुविधा समेत रोक्का राख्ने निर्णयमा ती जनप्रतिनिधीलाई हस्ताक्षर गराएको उहाँले बताउनुभयो ।
चर्पी बनाउँछु भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेको १५ दिन पुगेपछि वार्ड वास सीसीका पदाधिकारीहरुले अनुगमन गर्ने र नबनाएमा कुनै पनि बैठकमा नबोलाइने र सेवा सुविधा पनि रोक्का राख्नका लागि नगरपालिकाको कार्यालयमा परिपत्र गर्ने उहाँले जानकारी दिनुभयो ।


964 पटक हेरिएको 

