धनकुटाका ३ वटा वडा पुर्ण सरसफाइयुक्त बन्दै

धनकुटा, उषा खड्का : धनकुटाको महालक्ष्मी नगरपालिका भित्रका वडा नं. ३, ५ र ६ लाई मंसिर मसान्त सम्ममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गरिने भएको छ । पूर्ण सरसफाइका लागि आवश्यक सूचकहरु पूरा हुने क्रममा रहेकाले तीनै वटा वडाको वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकले पुर्ण सरसफाइ वडा घोषणा गर्ने निर्णय गरेको हो ।

महालक्ष्मी नगरपालिकाका ती वडामा केही समय अघिसम्म केही घरको वातावरण सफा र स्वच्छ भएपनि अधिकांश घरहरुमा शौचालय भएपनि त्यसको प्रयोग राम्रो सँग भएको थिएन ।

पानीको व्यवस्था भएपनि सुरक्षित पानीको प्रयोग गरेका थिएनन् तर पर्डेप नेपालबाट खटिएका कर्मचारीहरुले वडाका सम्पुर्ण घरहरुको सर्वेक्षण गरी ती घरलाई स्वस्थ, स्वस्थ उन्मुख र अस्वस्थ घरमा विभाजन गरी त्यही अनुसारको स्टिकर टाँस गरेपछि केही समय यता ती वडाहरुमा स्वस्थ घर बनाउने प्रतिस्पर्धा नै चलेको छ ।

फलस्वरुप अहिले वडाका सवैजसो घरहरु स्वस्थ घरमा परिणत भइसकेको पर्डेप नेपालबाट सरसफाइ प्रज्वलकका रुपमा खटिएका गिता प्रसाद गुरागाइले बताउनुभयो ।

विगत १ वर्षदेखि पर्डेप नेपाल र फण्डवोर्डको सहकार्यमा सन्चालित पुर्ण सरसफाइ कार्यक्रमले नगरपालिकाको तीनै वटा वडा पुर्ण सरसफाइ युक्त वडामा परिण हुन लागेको हो ।

पुर्ण सरसफाइ उन्मुख ती वडाका सबै घरमा अहिले सुधारिएको चुल्हो छ । घरको फोहोरको उचित व्यवस्थापन गरिएको छ भने वातावरणीय स्वच्छताका लागि वजार व्यवस्थापन समिति गठन गरिएको छ । तिनै व्यवस्थापन समितिले वडाका वजार र सार्वजनिक ठाउँको फोहोर व्यवस्थापनका लागि नियमित वजार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । बजारक्षेत्रको फोहोर संकलन गरी वजारदेखि टाढा लैजान सरसफाइ कोषको रकमबाट ट्याक्टरको व्यवस्था गरिएको वडा नं. ३ का वडा सचिव खड्ग खत्रीले जानकारी दिनुभयो ।

तीनै वटा वडाका जनप्रतिनिधि, वडा सचिव, विद्यालयका प्रधानाध्यापक र सरसफाइ अभियानमा क्रियाशील संघसंस्थाका प्रतिनिधीको संयुक्त वैठकले महालक्ष्मी नगरपालिकाको ३ नं. वडालाइ मंसिर १५ भित्र अनुगमन गरी सो को प्रतिवेदन माथिल्लो निकायमा वुझाउने निर्णय भएको वडा नं. ५ का सचिव डम्वर कार्कीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार