सिरहा : उनको कपडा अबीरले रातम्मे थियो । लामा जुँगा पालेका उनलाई पार्टीको चुनावी कार्यक्रममा जाँदा मतदाताले अवीरजात्रा गरेको अनुमान गर्न गाह्रो थिएन । जनताले नेता भनेर अबीरजात्रा गर्ने नेताको आचरण भने बाटोमा दिसा गर्ने सम्मको रहेछ ।
हेर्नुहोस् यो भिडियो, उनी कसरी भागे ?
मंगलबार विहान ९ बजेतिरको कुरा हो, शहरी वातावरण व्यबस्थापन समाज युम्सको टोली सरसफाइ अभियानको घरदैलो कार्यक्रमका लागि जाँदै थियो । बाटोमा दिसा गरिरहेको व्यक्ति देखेपछि चुप लागेर बसिरहन सकेन र टोलीले उनलाई नियन्त्रणमा लियो ।
नियन्त्रणमा लिएपछि उनी लाज लाग्ने कुरा बताउँदै थिए । सरसफाइ अभियानको टोलीले जरीवाना तिराउने तरखर गरिरहेका बेला अरु २ जनाले उनलाई छुटाएर पठाए ।
को हुन् बाटोमै दिसा गर्ने नेता ?
सिरहा नगरपालिका वडा नं. ९ ठेंगी घर भएका शक्ति यादव नेपाली काँग्रेसको जिल्ला स्तरीय नेता हुन् । गाउँमा सरसफाइ अभियान सञ्चालन भएपछि यादव घरमा चर्पी त बनाएका छन् तर प्रयोग गर्दैनन् ।
उनलाई घरबाट नजिकैको दुरीमै बाटोमा खुला दिसा गरिरहेको भेटिएको हो । शौचालयमै दिसा गर्न चाहेको भए त्यहाँ बाट नजिकैको दुरीमा रहेको गुलरिया चोकमा शहरी वातावरण व्यबस्थापन समाज युम्सले सार्वजनिक शौचालय बनाएको छ ।
मंगलबार उनी नेपाली काँग्रेसको चुनावी कार्यक्रममा भाग लिन गुलरिया तिर जाँदै थिए ।
समाजलाई सही बाटोमा डो-याउने दायित्व बोकेका नेताहरु नै पछिल्ला समय खुला दिसा गरिरहेको भेटेपछि सरसफाइ क्षेत्रकै लागि ठूलो चुनौती खडा भएको छ ।