८२ बर्षीय वृद्धको यस्तो जोश

धनकुटा उषा खड्का : भनिन्छ, उमेरले नेटो काट्दै गएपछि घरको आँगन पनि पर्देश जस्तै लाग्छ । तर धनकुटा जिल्लाको चौविसे गाउँपालिकाको वडा नं. ६ राजारानीका ८२ बर्षीय बृद्ध पदम बहादुर विश्वकर्मा भने गाउँका युवायुवती सँगै खानेपानीको पाइपलाइन खन्न व्यस्त हुनुहुन्छ ।

८२ बर्षको उमेरमा पनि उहाँको उत्साह देखेर अन्य युवायुवती समेत चकित भएका छन् ।

उहाँ अरु मानिससँग आउनुहुन्छ र दिनभरि युवायुवतीकै दाँजोमा काम गरेर फर्किनुहुन्छ । गाउँमै खानेपानीको प्रबन्ध हुने भएपछि उहाँ खानेपानीको पाइपलाइन खन्न उत्साहित हुनुभएको हो । एक दिन होइन, उहाँले ८ दिन सम्म श्रम गरेर २५ मिटर पाइप लाइन आफैले खनिसक्नुभएको छ ।

‘पाइपको पानी पिउन नपाई जुनी जाने भो भन्ने लागेको थियो, गाउँमै पानी आउने भएपछि मलाई खुसी लाग्यो’ बृद्ध पदम बहादुरले भन्नुभयो ‘मैले त कति पो पिउन पाइएला र पछि नातानातिनाले कुरा गरुन् न, मेरा हजुरबाले यसरी खनेर ल्याउनुभएको पानी भनेर ।’

फण्डबोर्डको आर्थिक सहयोगमा सञ्चालित खानेपानी आयोजनाका लागि हरेक घरपरिवारले ५ हजार पाँच सय रुपैयाँ नगद र ३४ प्रतिशत श्रमदान गर्नुपर्छ । तीन मध्ये २० प्रतिशत श्रमदान निशुल्क र बाँकी १४ प्रतिशत श्रम गरेबापत फण्डबोर्डले पारिश्रमिक उपलब्ध गराउँदै आएको पर्डेप नेपालका लेखा अधिकृत अमित घिमिरेले जानकारी दिनुभयो ।

फण्डवोर्ड र पर्डेप नेपाल धनकुटाको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालित युमामांहिम खानेपानी आयोजनाको विकास चरणको सबै काम २०७३ माघ २५ गते सम्पन्न भएको थियो । विकास चरणको काम सकिएको ४ महिना पछि शुरु भएको निर्माण चरण अन्तर्गत अहिले पाइप लाइन खन्ने र इन्टेक निर्माण गर्ने काम सम्पन्न भइसकेको छ भने रिजर्भ ट्यांकी निर्माणको काम भइरहेको छ ।

लागत ८० लाख, लाभान्वित १७७ घरपरिवार

निर्माणाधीन युमामांहिम खानेपानी आयोजना १७५ मिटर लिफ्ट प्रणालीबाट सञ्चालित आयोजना हो । कुल ८० लाख लागतको खानेपानी आयोजनाबाट १७७ घरपरिवार लाभान्वित हुनेछन् ।

‘वर्षौदेखि खानेपानीको अभाव झेल्दै आइयो बल्ल खानेपानी घरघरमा आउने भो’ यत्ति भनेर पदम बहादुर विश्वकर्मा मुस्कुराउनु भयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार