बाग्लुङ : बाग्लुङ – पोखरा सडक निर्माणका क्रममा घरबास गुमाएका माझी जातिका लागि बाग्लुङ नगरपालिका १ को खनियाघाटमा बनाएको घरमा शौचालय र पानीको योजना नै छुटेपछि बस्ती हस्तान्तरणको काम अनिश्चित बनेको छ ।
करिब ८२ लाखको लागतमा १२ वटा घर निर्माण भइसकेका छन् भने २ वटा घर निर्माणाधीन अवस्थामा छन् । घर निर्माणको काम सम्पन्न भएपनि विद्युत जडान, शौचालय र पानीको संरचना समेट्नै बाँकी छ । बस्तीमा १ सामुदायिक भवन पनि बनाइने बाग्लुङ नगरपालिकाले जनाएको छ ।
माझी बस्ती निर्माणको सम्झौतामा शौचालय, खानेपानी र विद्युत जडान लगायत महत्वपूर्ण संरचना नै छुटेपछि माझी बस्ती हस्तान्तरणको काम अनिश्चित बनेको हो । गत बर्षको पुसमा माझी बस्ती व्यवस्थापन समितिको रोहबरमा बाग्लुङ नगरपालिका र मुक्तिनाथ बी एन्ड बी त्रिशक्ति निर्माण कम्पनी काठमाडौं बीच १ वर्षमा १४ घर निर्माण गरी २०७४ सालको असोज अगाडि नै नयाँ घरमा सार्ने सम्झौता भएको थियो ।
कम्पनीले सम्झौता अनुसार १२ घर निर्माण गरेपनि डिजाइनभित्र शौचालय र खानेपानी नै छुटेपछि बस्ती निर्माणमा ढिलाई भएको छ भने उक्त संरचना कसरी बनाउने भन्ने प्रश्न उब्जिएको छ ।
बस्ती निर्माणको डिजाइनमै कमजोरी भएको नगर प्रमुखको स्वीकारोक्ति
बस्ती निर्माणको सम्झौता गर्दा कमी कमजोरी भएको बाग्लुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले स्वीकार्नुभएको छ । ‘बस्ती निर्माणको सम्झौतामा फिनिसिङ, खानेपानी, शौचालय र विद्युत जस्ता महत्वपूर्ण संरचनाहरू छुटेका रहेछन्, बजेट थप गरेर यसको निर्माण पूरा गर्नेछौं’ प्रमुख पौडेलले भन्नुभयो ।
विक्रम सम्बत २०४६ सालमा बाग्लुङ–पोखरा सडक निर्माणका क्रममा पहिरोले घरबार विहीन बनाएपछि १२ घरपरिवार बाग्लुङ नगरपालिका–१ को बाँगेचौर खेल मैदान किनारमा अस्थायी टहरामा बस्दै आएका छन् ।
१ करोड १३ लाख रुपैयाँको लागत अनुमान गरिएको माझी बस्ती ठेकेदार कम्पनीले ८२ लाख ३० हजारमा बनाउने ठेक्का पाएको हो ।
वस्ती निर्माणका लागि नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र स्थानीय बासिन्दाले १० प्रतिशत श्रमदान गरेका छन् ।


928 पटक हेरिएको 

