बारा, प्रसन्न तामाङ : कलैया नगरपालिकाको वडा नं. १५ सीतलपुरका साबिर आलमको घरको ढोकाबाट छिर्ने वित्तिकै पुगिन्छ भान्छामा । उहाँले चुल्हो सँगै दायाँपट्टिको कुनामा चर्पी बनाउनुभएको छ । ‘सानो घर त्यही माथि घरभित्रै चर्पी बनाउनु परेकाले चुल्हो र चर्पी सँगसँगै बनाउनु परेको हो’ आलमले बताउनुभयो ।
साविर आलमको आँगन र आठनी खातुनको आँगन जोडिएको छ । आठनीले पनि घरभित्रै चर्पी बनाउनुभएको छ । साबिरको भन्दा अलि फराकिलो घर भएकाले आठनीको चर्पी घर भित्रै भएपनि चूल्होबाट अलि अलग्गै ठाउँमा बनाइएको छ ।
साबिर आलम र आठनी खातुनले मात्र नभई सीतलपुरका हरेक घरले घरभित्रै शौचालय बनाएका छन् । घर अट्ने जग्गा बाहेक थप जग्गा नभएकाले घरभित्रै शौचालय बनाउनुपरेको आठनी खातुनले बताउनुभयो ।

‘गाउँमा सरसफाइ अभियान आयो, जग्गा हुनेले धमाधम बनाए, हाम्रो जग्गा नभएपछि कहाँ बनाउने ? हाम्रै कारण वडा खुल्ला दिसामुक्त नहुने अवस्था आएपछि हामीले घरकै एउटा कुनामा बनाउने निधो ग-यौं र सबैले घरभित्रै सेफ्टी (शौचालय) बनायौं’ आठनी खातुनले भन्नुभयो ।
जग्गाको अभावमा पनि चर्पी बनाउन सकिन्छ भन्ने उदाहरण सीतलपुरका बासिन्दाले सानो घरभित्रै चर्पी बनाएर प्रस्तुत गरेको बताउनुहुन्छ पूर्व गाविस सचिव राजेन्द्र प्रसाद शाह ।
‘सरसफाइ अभियानका क्रममा जग्गा अभाव भएको समस्या देखाउदै चर्पी बनाउन नमान्नेहरु धेरै भेटेको छु, धेरैले अनुदान पनि माग्छन् तर सीतलपुरका बासिन्दाले विभिन्न संघसंस्थाको आग्रहमा आफैले घरभित्रै चर्पी बनाएका छन्’ शाह भन्नुहुन्छ ‘चर्पी बनाउने इच्छा शक्ति भएमा जग्गा, पैसाको अभाव कुनै कारण नै होइन, सीतलपुरका बासिन्दाले जग्गा अभाव हुँदाहुँदै आफैले घरभित्रै चर्पी बनाएर नमुना प्रस्तुत गरे ।’
सानो घर अटाउने जग्गा बाहेक एक चोक्टा खाली जग्गा नभएपनि कसैले ज्याला मजदुरी गरेर, कसैले घरको पशु चौपाया बेचेर घरभित्रै चर्पी बनाएका रहेछन् । काठमाडौमा फर्निचरको काम गर्दै आएका शीतलपुरका सनुमिया हवारी घरभित्रै चर्पी देखेर शुरुमा त दंग पर्नुभएछ ‘मैले काठमाडौमा फर्निचरको काम गरेर पठाएको १० हजार रुपैयाँले बुबा आमाले चर्पी बनाउनु भएछ, साह्रै खुसी लागेको छ, पहिले घर बाहिर दिसा गरिन्थ्यो अहिले त घरभित्रै पो चर्पी बनेछ ।’
साबिर आलमले भने मासिक कमाइको केही अंश छुटाएर चर्पी बनाएको बताउनुभयो । ‘हामी सानोतिनो काम गर्ने मान्छे, घरमा पनि खानै प-यो, चर्पी बनाउने सोच आएपछि अलि अलि बचत गरें, एक महिनाको कमाइबाट छुटाएको पैसाले इटा किने, अर्को महिनामा बालुवा जम्मा गरें, अनि तेस्रो महिनामा छुटाएको पैसाले प्यान सेट र सिमेन्ट किनें, चौथो महिना चाहिं मिस्त्री बोलाएर चर्पी बनाएँ’ आलमले बेलिविस्तार लगाउनुभयो । तराइका जिल्लाहरुमा अहिले चर्पी बनाउने लहर चलिरहेको छ ।


792 पटक हेरिएको 

