सिरहा, मनिसा कार्की : शौचालय निर्माण भए नभएको घरदैलो गर्दै हाम्रो टोली सिरहा नगरपालिकाको वडा नं. ९ ठेंगीमा पुग्यौं । ठेंगीमा हँसिलो मुहार लिएर एक जना महिला केही भन्न खोजिरहे जस्तो देखियो । केही भन्न खोज्दै हुनुहुन्छ ? हामीले सोध्यौं । ‘मेरो नाम शिवकुमारी यादव, केही समय अघि मेरो छोरो खुला दिसा गर्ने बेला पक्राउ परेछ । मलाई साह्रै नमज्जा लाग्यो र मैले त्यसको केही दिनपछि नै शौचालय बनाएँ ।’
शिवकुमारीले भनेपछि मात्र थाहा भयो, केही समय अघि हगुवा नियन्त्रण टोलीद्धारा पक्राउ गरिएका मध्ये उहाँको छोरा पनि परेछ भन्ने कुरा । त्यत्तिबेला उहाँको छोरा लगायत अरुलाई पनि पक्राउ गरी ५/५ सय रुपैयाँ जरिवाना पनि लिएका थियौं ।
उहाँले चिटिक्क परेको नव निर्मित शौचालय पनि देखाउनुभयो ।
४ महिना अघिसम्म उहाँका सबै परिवारले खुला ठाउँमा दिसा गर्दै आएका थिए । ‘छोरालाई खुला दिसा गर्नुहुँदैन भनेर पनि सम्झाउनु भएछ त्यसपछि छोराले पनि चर्पी बनाउनै पर्छ भनेर बाहिर जानै मानेन, मलाई पनि बाहिर दिसा गर्दा त बेइज्जत हुने रहेछ भन्ने लाग्यो र तुरुन्तै चर्पी बनायौं’ उहाँले खुसी हुँदै भन्नुभयो ।
चर्पी बनाउन गरिएको आग्रहलाई वेवास्ता गर्दै बाहिरै दिसापिसाब गर्ने र भएको चर्पी पनि प्रयोग नगर्ने विरुद्ध हगुवा नियन्त्रण अभियान चलिरहेको छ ।
यो अभियान अन्तर्गत खुला दिसा गरिरहेको भेटिएमा पक्राउ गर्ने सम्झाउने, खुलादिसा गर्दा हुने हानि नोक्सानी र चर्पीको महत्व बुझाउने गरेका छौं । यस क्रममा रिसाउने मानिसहरु पनि थुप्रै हुन्छन् । तर शिवकुमारी यादवलाई भेटेपछि हामीलाई लाग्यो ‘खुला दिसा गर्नेहरुलाई सम्झाएर मात्र नहुने रहेछ, पक्राउ र जरिवाना पनि गरायो भने मात्र बल्ल बनाउने र प्रयोग पनि गर्ने रहेछन् ।’
‘हामीले चर्पीको महत्व नबुझेर खुला दिसा गरेछौं’ शिवकुमारी यादवले भन्नुभयो ‘ शीतमा, जाडोमा, हिलोमा, झरीमा बाहिर जानु पथ्र्यो, अहिले त आफ्नै चर्पीमा दिसा गर्न पाएका छौं, युम्सका कर्मचारीले हामीलाई धेरै कुरा सिकाउनुभयो । हामी पनि शिवकुमारीको कुरा सुनेर खुसी हुँदै फर्कियौं ।


666 पटक हेरिएको 

