धनकुटा, उषा खड्का : धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजारलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ ।
वडाका सबै घरधुरीमा पूर्ण सरसफाइका लागि आवश्यक सबै सूचक पूरा भएपछि जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, सागुरीगढी गाउँपालिकाका अध्यक्ष कुमार जंग याखा, पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोख्रेल, खानेपानी तथा सरसफाइ कार्यक्रमका टिम लिडर नरेश प्रसाद श्रेष्ठ, सरसफाइ अधिकृत मिन प्रसाद सुवेदी र अन्य गैर सरकारी संस्थाका सरोकारवालाको उपस्थितिमा वडा नं. ५ डाँडाबजारलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको हो ।
सागुरिगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजार अब धनकुटा जिल्लाकै पहिलो पूर्ण सरसफाइ उन्मुख वडा बन्न सफल भएको छ ।
फण्डवोर्डको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटाको समन्वयमा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रमले १६ महिनापछि सफलता पाएको हो । पर्डेप नेपालले २०७३ साउन १ देखि पूर्ण सरसफाइ लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । हाल धनकुटा जिल्लाको ३ गाउँपालिका र १ नगरपालिकामा गरी १२ वटा वडामा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।
भविश्यमा पूर्ण सरसफाइका सुचकहरुलाई निरन्तरता दिन जिम्मेवार सबै पक्ष प्रतिवद्ध रहने घोषणा पत्र पनि जारी गरिएको छ ।


996 पटक हेरिएको 

