धनकुटा, उषा खड्का : धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. ३ डाँडागाउँमा विद्यार्थीको अगुवाइमा हाजिरी जवाफ र नृत्य प्रतियोगिता गरी सरसफाइ सम्बन्धी जनचेतना र सन्देश प्रवाह गरिएको छ ।
तीन नम्बर वडा कार्यालयको आयोजना तथा नवीन शिक्षा विद्यालयको व्यवस्थापनमा वडा भित्र सञ्चालित ४ वटा विद्यालयले पूर्ण सरसफाइ सम्बन्धी वृहत कार्यक्रम प्रदर्शन गरिएको हो ।
कार्यक्रममा पूर्ण सरसफाइ अन्तर्गतका जनचेतनामुलक गीत र नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरिएको थियो भने हाजिरी जवाफ प्रतियोगितामा सरसफाइ र स्वास्थ्य सम्वन्धी ५५ वटा प्रश्नहरु सोधिएका थिए ।
फण्डवोर्ड काठमाण्डौ र पर्डेप नेपालको संयुक्त प्रयासमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएदेखि नै सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रम तथा तालिम लिई विद्यार्थीहरुले आ –आफ्नो विद्यालयलाई स्वस्थ र सफा बनाउने प्रतिस्पर्धा गर्दै आएका छन् ।
कार्यक्रमको सभापति समेत रहेका वडा नं. ३ का अध्यक्ष भरत थापाले सरसफाइ सभ्यताको परिचायक भएकाले व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइका लागि विद्यालय, शिक्षक, समुदाय मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।


1105 पटक हेरिएको 

