दैलेख : उनीहरुले गाउँलेहरुसँगै पाइपलाइन खने, गिट्टी कुटे र पानीको ट्याङ्की निर्माण गर्नेहरुलाई ट्याङ्की बनाउन पनि सघाए । हेल्भेटास स्विस इन्टरकोपरेशन र Geberite कम्पनीको सहकार्यमा जर्मनी र स्विजरल्याण्डबाट आएका १८ जना विदेशीले गाउँलेलाई खानेपानी योजना निर्माण गर्न सघाएका हुन् ।

दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ मा निर्माण भइरहेको रौतेनी खानेपानी तथा सरसफाइ योजनामा उनीहरुले नोभेम्बर २२ देखि २८ तारीखसम्म काम गरे । हप्ता दिनसम्म हातमा हात, काँधमा काँध मिलाएर काम गरेका उनीहरुले स्थानीयबासिन्दालाई अमिट छाप छोडेका छन् ।

के हो Geberite ?
Geberite कम्पनी हेल्भेटास स्विस इन्टरकोपरेशनका विभिन्न साझेदार संस्थाहरु मध्ये एक महत्वपूर्ण साझेदार संस्था हो । विभिन्न राष्ट्रहरुमा रहेको यस कम्पनीले पानी र सेनेटरी सम्बन्धी विभिन्न सामानहरु उत्पादन गर्दछ । समुदायसँगै काम गरी सहयोग पु-याउन आएका स्वयंसेवीहरु Geberite का कर्मचारीहरु हुन् ।

साथ एक हप्ताको, सम्झना जुनीभरिको
‘एउटा चक्लेट खाएको खोस्टो फ्याँक्न पनि खोइ फोहोर फाल्ने ठाउँ कहाँ छ भनेर सोध्दै निश्चित ठाउँमा मात्र फ्याँक्ने रहेछ’ विदेशीको बानी देखेर रौतेनी खानेपानी तथा सरसफाइ योजनाका अध्यक्ष हर्कबहादुर कार्की छक्क पर्नुभएछ ।
शुरुमा छक्क परेपनि हप्तादिनसम्म सँगै काम गरेपछि अध्यक्ष कार्की के निश्कर्षमा पुग्नुभएको छ भने ‘विदेशीको बानी देखेर गाउँलेहरुको फोहोर फ्याँक्ने बानीमा पनि केही हदसम्म परिवर्तन अवश्य आउनेछ ।’

गाउँठाउँमा विदेशी पाहुनालाई स्वागत गर्न पाउँदा र हप्ता दिनसम्मको बसाईबाट कहिल्यै बिर्सन नसक्ने सम्झना छाडेको खानेपानी योजनासँग सम्बद्ध पदाधिकारीहरु बताउँछन् । ‘हप्ता दिनमा सँगै काम गर्दा हाम्रो रहनसहनका विषयमा जानकारी लिनुभएको छ, उहाँहरुले जानी नजानी हामी सँगै काम गर्नु भएको छ, हामी त पछि पानी पिउँदा पनि उहाँहरुले गरेको सहयोग सम्झनेछौं’ अध्यक्ष कार्कीले भन्नुभयो ।
विदेशी पनि मख्ख
विदेशीको सहयोग पाउँदा खानेपानी उपभोक्ताहरु मात्र होइन नेपालीहरुको सहयोगी भावना र महिला र पुरुषले विकासमा देखाएको सहभागिताले विदेशीहरु पनि खुसी भएका छन् ।

खानेपानी र सरसफाइ क्षेत्रमा विदेशी पर्यटकहरुको भ्रमणलेले ग्रामीण भेगमा खानेपानी तथा सरसफाइको अवस्था, खानेपानी आपूर्तिका लागि समुदायले भोगिरहेको समस्या, खानेपानीसँग महिलाको सम्बन्ध, पानीको अभावले महिला सशक्तिकरणमा पार्ने समस्या, खानेपानीका लागि महिलाको निर्भरताले पारेको कठिनाई आदिको विषयमा जान्ने मौका पाएको उनीहरुले बताएका छन् ।
समुदायको स्वागत र आतिथ्यबाट निक्कै प्रभावित भएको र योजना निर्माणका लागि सामूहिक सहभागिता प्रसंशायोग्य रहेको विदेशीहरुले बताएका छन् । आफ्नो कार्यक्षेत्रमा यस किसिमको भ्रमण आयोजना गरी समन्वय र सहकार्य गरेकोमा भ्रमण टोलीले एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपाललाई धन्यबाद व्यक्त गरेका छन् ।
भ्रमणका क्रममा फिल्डमा समन्वयकारी भूमिका एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका वास म्यानेजर मोहन भट्टले गर्नुभएको थियो भने भ्रमणको समग्र व्यवस्थापन एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका कार्यक्रम निर्देशक मदनराज भट्टले गर्नुभएको थियो ।


1061 पटक हेरिएको 

