झापा : जिल्ला कारागार झापाको शौचालयबाट निस्किएको दिसाजन्य लेदोले झापा सदरमुकाम दुर्गन्धित भएको छ । लामो समयदेखि कारागारको दिसाजन्य लेदोका व्यवस्थापन नगरिंदा स्थानीयबासिन्दा दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका हुन् ।
कारागारले भद्रपुर–९ की कालिका न्यौपानेको जग्गामा मलमूत्र फालेपछि गाउँ नै दुर्गन्धित बनेको हो । कारागारको शौचालयको फोहर व्यवस्थित नगर्दा दर्जनौँ परिवार दुर्गन्धमा बस्न बाध्य भएको न्यौपानेले बताउनुभयो ।
न्यौपाने सहित स्थानीयबासिन्दाको समूहले भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठलाई कारागारको फोहोरका कारण बसोबास गर्न नै समस्या भएको जानकारी गराएका छन् । शौचालयको फोहोरले न्यौपाने परिवारको एक बिगाह जमिनमा लगाइएको धान काट्न समेत समस्या भएको छ ।
लामो समयदेखि फोहर व्यवस्थापन गर्नभन्दा पनि कारागार प्रशासनले बेवास्ता गरेको स्थानीयबासिन्दा बताउँछन् । कारागार प्रशासनले आफूहरुले समाधान गर्न नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय जान सुझाव दिने गरेको पीडितले बताएका छन् ।
कारागार प्रमुख यज्ञ निरौलाले भने यो पुरानै समस्या भएको बताउनुभयो । ‘कारागारमा क्षमता भन्दा धेरै कैदीबन्दी छन्, फोहोर व्यवस्थापनमा कठिनाइ भएको छ’ उहाँले भन्नुभयो । प्रमुख निरौलाले यस विषयमा नगरपालिका र जिल्ला समन्वय समितिमा जानकारी गराएको बताउनुभयो ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भने समस्या समाधानका लागि सरोकारवालासँग पहल गर्ने बताउनुभएको छ । झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने समय नजिकिँदै जाँदा कारागारको शौचालय भने दिनहुँ अव्यवस्थित बन्दै गएको छ ।


792 पटक हेरिएको 

