संयुक्त अनुगमन टोलीको निष्कर्ष : विपदको समयमा सञ्चालित वास कार्यक्रम प्रभावकारी

काठमाडौ : तराइमा बाढी र डुबानका बेला वास क्लस्टरले सञ्चालन गरेको सरसफाइ र स्वच्छता सम्बन्धी प्रर्बद्धनात्मक कार्यक्रम अति प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

तराईमा गत साउन २६ गतेदेखि २८ गतेसम्म आएको बाढी र डुबानपछि सञ्चालित खानेपानी र सरसफाइ सम्बन्धी कार्यक्रमको प्रभावकारिता, चुनौती, समस्याका विषयमा संयुक्त अनुगमन टोलीले तराईका १४ जिल्लामा गरेको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो ।

वास क्लस्टरले चार वटा अनुगमन टोली बनाई बाढी र डुबान प्रभावित तराईका १४ जिल्लामा अनुगमन गरेको थियो । पहिलो अनुगमन टोलीले झापा, मोरङ र सुनसरी, दोस्रो टोलीले सिरहा, धनुषा, महोत्तरी र सप्तरी तेस्रो टोलीले सर्लाही, रौतहट र पर्सा तथा चौथो टोलीले दाङ, बाँके, बर्दिया र कैलालीको अनुगमन गरेको थियो ।

 

 

१४ जिल्लाका ४ लाख लाभान्वित

तराईमा बाढी र डुबान भएको भोलि पल्ट नै वास क्लस्टरको बैठक बसी जिल्ला वास क्लस्टरहरु मार्फत खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विविध कार्यक्रमहरु सन्चालन भएको थियो ।

बाढी र डुबानबाट ३६ जिल्लाका ९ लाख मानिस प्रभावित भएपनि वास क्लस्टरले अति प्रभावित तराईका १४ जिल्लामा मात्र खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी क्रियाकलाप सन्चालन गरेको थियो ।

ती कार्यक्रमबाट ४ लाख जनसंख्या लाभान्वित भएको वास क्लस्टरले जनाएको छ ।

शौचालय बनाउन सरकारको आशा गर्ने धेरै

अनुगमनका क्रममा शौचालय बनाउन अझै पनि सरकारी तथा गैरसरकारी संस्थाको आशा गर्ने उपभोक्ता समेत भेटिएका छन् । घरमै रिङ, प्यान सेट पु-याएर पनि शौचालय बनाउन सरकारको मुख ताकेर बसेका नागरिकहरु भेटिएको अनुगमन टोलीका सदस्य कमल अधिकारीले बताउनुभयो ।

शौचालय बनाउन अनुदान दिने व्यवस्था नभएपनि दुई चार बर्ष अघि दिएको कुरालाई लिएर हामीले पनि पाउनुपर्छ भन्दै दाबी गर्ने नागरिक पनि भेटिएको उहाँले बताउनुभयो ।

पिछडिएका समुदायमा खानेपानी र सरसफाइको अवस्था नाजुक

पिछडिएका समुदाय (मुसहर, डोम तथा अति गरिब ) मा अझै शौचालय बन्न नसकेको टोलीले जनाएको छ । ती समुदायको सरसफाइमा अति कम पहुँच रहेको पाइएको छ ।

यस्तै बाढी र डुबान पश्चात खानेपानी शुद्धिकरणका लागि वितरण गरिएका आक्वा ट्याब समेत त्यस्ता समुदायले प्रयोग नगरेको भेटिएको छ । आक्वा ट्याब हालेर पिउँदा पानीको स्वादै फरक आउने भएकाले आक्वा ट्याब प्रयोग नगरेको बताएको अनुगमन टोलीका सदस्यहरुले बताए ।

डुबानबाट चर्पीमा कम क्षति

बाढी र डुबानले अन्य संरचनालाई धेरै क्षति पु-याएपनि चर्पीमा सोचेभन्दा कम क्षति पुगेको टोलीको निष्कर्ष छ । डुबानले दुई तीन दिनसम्म शौचालयमा पानी भरिएका कारण प्रयोग गर्न नमिल्ने कामै नलाग्ने गरी नभत्किएको अनुगमन टोलीले जनाएको छ ।

कतै कतै छानो भत्किएको, शौचालयको भित्ता भत्किएको र ढुंगा माटोले प्यान सेट भरिएपनि प्रयोगमै ल्याउन नमिल्ने गरी क्षति नभएको पाइएको अनुगमन टोलीका सदस्यले बताएका छन् ।

त्यत्रो ठूलो बाढी र डुबानले पनि प्रयोग नै गर्न नमिल्ने गरी नभत्काएपछि खानेपानी र सरसफाइको क्षेत्रमा क्रियाशील संघसंस्थाले भने यसलाई आफूहरुको सफलता ठानेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार