तेह्रथुम : तेह्रथुमका सबै स्थानीय तह र वडाहरुलाई पुर्ण सरसफाइयुक्त बनाउन अभियान थालिएको छ । खुला दिसामुक्त, धुँवामुक्त जस्ता अभियानको सफलतासँगै विभिन्न वडालाई पुर्ण सरसफाइ उन्मुख घोषणा गरी पुर्ण सरसफाइ अभियान थालिएको हो ।
हालै जिल्लाको फेदाप गाउँपालिका–३, जलजले र छथर गाउँपालिका–६, सुदापलाई पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ । जलजलेका ७ सय ७५ घरधुरी र सुदापका ६ सय २१ घरमा व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइका सुचकहरु पुरा गरी पुर्ण सरसफाइ उन्मुख घोषणा गरिएको कार्यक्रम निर्देशक कपिलदेव सिंगकले बताउनुभयो ।

उहाँका अनुसार विभिन्न रोगहरु बाट बच्न ‘पुर्ण सरसफाइ युक्त हाम्रो घर, अब छैन हामीलाई रोगको डर’ भन्ने नारासहित ती गाउँहरुलाई पुर्ण सरसफाइ उन्मुख घोषणा गरिएको छ ।
दुई नगरपालिका र चार वटा गाउँपालिका रहेको तेह्रथुममा ४३ वटा वडा छन् । ती स्थानीय तहहरुमा पुर्ण सरसफाई सम्बन्धी प्रारम्भिक सूचकहरु पुरा गरी सरसफाइ उन्मुख घोषणा अभियान सुरु भएको छ ।
खानेपानी तथा सरसरसफाइ कोष विकास समितिको सहयोग तथा जिल्लामा क्रियाशील गैरसरकारी संस्था देउराली सोसाइटीको सहजीकरणमा स्थानीय तह र जनप्रतिनिधिहरु समेतको पहलमा जिल्लाका स्थानीय तहहरुलाई पुर्ण सरसफाइ उन्मुख बनाउने अभियान सुरु भएको हो ।
स्थानीयबासीहरुले समेत सरसफाइका ती सूचकहरु पुरा गर्न प्रतिवद्धता जनाउँदै व्यवहारिक प्रयोगको थालनीपछि वडाहरुलाई पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्न थालिएको कार्यक्रम निर्देशक सिंगकले बताउनुभयो ।
हाल सो कार्यक्रम जिल्लाको सुदाप, जलजले, सिम्ले, इसिवु, सक्रान्तिबजार, हमरजुङ र पन्चकन्यामा सन्चालित छ । पुर्ण सरसफाइयुक्त गाउँ बनाउन टोलबस्ती सम्म पुगेर व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइका उपायहरुका विषयमा जनचेतना फैलाउने अभियान नै चलेको सामुदायिक कार्यकर्ता सन्जु तुम्बाहाम्फेले बताउनुभयो ।
पूर्ण ससफाइ उन्मुख अभियानमा स्थानीय बासिन्दाको सक्रियता बढ्दो
पूर्ण ससफाइ सम्बन्धी सञ्चालित अभियानमा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता हुने गरेको छ ।
व्यक्तिगत सरसफाइ जस्तैः दाँत माझ्ने, कपाल कोर्ने, नुहाउने, नङ काट्ने बानीमा बृद्धि हुँदै गएको, यस्तै घरायसी सरसफाईतर्फ चर्पीको नियमित प्रयोग, सुधारिएको चुलोको नियमित प्रयोग, भाँडा माझेपछि सुकाउने चाङको प्रयोग, जुठ्याँनको व्यवस्था, पिउने पानी छोपेर राख्ने, खानेकुराहरु छोपेर राख्ने, बासी नखाने, घर आँगन र भान्सा कोठाको सरसफाइ गर्ने जस्तामा स्थानीय बासिन्दाको ध्यान जान थालेको सामुदायिक कार्यकर्ता सन्जु तुम्बाहाम्फेले बताउनुभयो ।
यस्तै मन्दिर, चौतारा, बाटोघाटो र विद्यालयको सरसफाइमा पनि स्थानीय बासिन्दाले ध्यान दिन थालेका छन् ।
पुर्ण सरसफाई उन्मुख अभियानको निरन्तरताका लागि जनप्रतिनिधिको भूमिका महत्वपुर्ण हुने प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । उहाँले जनप्रतिनिधिको अभियानबाट मात्रै पुर्ण सरसफाइयुक्त गाउँ बनाउन सम्भव रहेको बताउनुभयो ।


1256 पटक हेरिएको 

