सप्तरी : देशभर नै यतिवेला चर्पी निर्माण गर्ने अभियान चलेको छ । सरकारले सन् २०१७ भित्रै मुलुकलाई खुला दिसामुक्त बनाउने लक्ष्य राखेको छ । तर, लक्ष्य पूरा गर्न थुप्रै चुनौती देखिएका छन् । ग्रामीण क्षेत्रका जनताले अझै चर्पी निर्माणमा ध्यान दिएका छैनन् । तराईमा यो समस्या अझै विकराल छ ।
लामो समयदेखि सरकारी सेवामा रहेका सप्तरीका केही शिक्षिकाकै घरमा अहिलेसम्म चर्पी छैन । बलानबिहुल गाउँपालिका–३ मौवाहास्थित श्री पञ्चायत राष्ट्रिय प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएकी शिक्षिक धर्मशिला यादवले घरमा चर्पी नभएको बताइन् । ‘घरायसी विवादले अंशबन्डा नहुँदा तत्काल चर्पी बनाउन सकिएको छैन । परिवारका अरू सदस्यले पनि चर्पी बनाउन ध्यान दिएका छैनन् । यो विवाद समाधान हुनासाथ चर्पी निर्माण गर्ने सोचेकी छु,’ उनले भनिन् ।

बोदैबर्साइन नगरपालिका–३ सारस्वरमा बस्ने सिवीदेवी यादव तथा उनकै परिवारकी सदस्य अनिताकुमारी यादव पनि शिक्षित हुन् । उनीहरूको पक्की घर छ । तर, घरमा चर्पी छैन ।
गाउँकै महनुरी प्राविमा कार्यरत सिबिदेवीले चर्पी नभएका कारण खेतबारीमै दिसा गर्न जानुपरेको बताइन् । ‘हामीलाई नै लाज लाग्छ, अब चाँडै बनाइहाल्छु,’ उनले भनिन् ।
जिल्लामा थुप्रै स्थानमा स्थानीयले चर्पी निर्माण गरेका छैनन् । ‘चेतना भएका शिक्षक–शिक्षिका तथा सरकारी कर्मचारीहरूकै घरमा चर्पी निर्माण नहुनु दुर्भाग्य हो,’ खुला दिसामुक्त अभियानमा कार्यरत रहेका सहयोगी संस्था एसएनभीका सप्तरी संयोजक कृष्ण जिसीले भने, ‘जुन कार्यालय मातहात कार्यरत रहेको हुन्छ, सोही कार्यालयको माथिल्लो तहबाट हामीले फोन गर्न लगाएर चर्पी बनाउन त्यस्ता कर्मचारीलाई निर्देशन समेत दिलाउनुपरेको छ ।’
५४ गाविस र १ नगरपालिका खुला दिसामुक्त
साबिकमा चार नगरपालिका र ९१ गाविस रहेको सप्तरीमा हालसम्म ५४ गाविस कञ्चनरूप नगरपालिका मात्रै खुला दिसामुक्त घोषणा भएका छन् । ७ गाविस भने खुला दिसामुक्त घोषणाको अन्तिम चरणमा रहेको जिल्ला समन्वय समितिस्थित सरसफाइ सचिवालयका संयोजक मिथिलेश यादवले जानकारी दिए ।
समयसीमाअनुसार आउँदो १६ पुसभित्रै बाँकी रहेका सदरमुकाम राजविराजसहित साबिकका ३७ वटा गाविस र नगरपालिकाका वडा खुला दिसामुक्त घोषणा गर्नुपर्नेछ । तर, समयसीमा सकिन लागेको अवस्थामा सबै क्षेत्रमा चर्पी निर्माण हुने अवस्था देखिएको छैन । ग्रामीण क्षेत्रका बासिन्दालाई चर्पी बनाउनुपर्छ भन्ने चेतनासमेत छैन । चेतना भएकाहरूले पनि अटेर गरिरहेका छन् ।
धमाधम चर्पी बनाइँदै
बलानबिहुल गाउँपालिका–३ मौवाहामा कुल ८ सय ८१ घरधुरी छन् । यहाँ, हालसम्म ४ सय ४८ मा चर्पी निर्माण भइसकेका छन् । बाँकी २ सय २३ वटा घरमा पनि चर्पी निर्माणको सुरसार भएको छ ।
घरमा चर्पी निर्माण नगर्दा गाउँपालिकालले नागरिकताको सिफारिससमेत दिन छाडेपछि चर्पी बनाउन लागेको स्थानीय सुमीन्द्रदेवी यादवले बताइन् । ‘श्रीमान वैदेशिक रोजगारको क्रममा मलेसियामा हुनुहुन्छ । नागरिकता नहुँदा अर्काको नाममा उहाँले पैसा पठाउनुहुन्छ,’ उनले भनिन्, ‘अब आफ्नै नाममा पैसा ल्याउन चर्पी बनाएर तुरुन्त नागरिकता बनाउन जान्छु ।’
चर्पी निर्माण भएका घरहरूमा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरूले सरसफाइ परिचय पत्र दिने गरेका छन् । त्यस्तो परिचय पत्र नपाएकाहरूलाई तत्कालका लागि स्थानीय तहबाट प्राप्त हुने सेवा–सुविधा उपभोग गर्न वञ्चित गरिएको छ ।
चर्पी निर्माण नगरेसम्म उनीहरूले सेवा पाउने छैनन् । कुल १ लाख १९ हजार ६ सय घरधुरी रहेको सप्तरीमा हालसम्म १ लाख ६ हजार २ सय ४२ घरधुरीमा चर्पी निर्माण भइसकेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ । १३ हजार ३ सय ७६ घरधुरीमा चर्पी निर्माण हुन बाँकी छ । नयाँ पत्रिका दैनिकबाट साभार ।


680 पटक हेरिएको 

