उदयपुर : ‘स्वस्थ घर, पूरा भयो हाम्रो रहर, अब छैन रोग ब्याधिको डर’ भन्ने नाराका साथ उदयपुरको रौतामाई गाउँपालिका वडा नं. २ भुटारलाई ‘स्वच्छ र सफा वडा’ घोषणा गरिएको छ । भुटार, उदयपुर जिल्लाकै पहिलो ‘स्वच्छ र सफा वडा’ बन्न सफल भएको छ ।
२०७० साल बैशाख १० गते खुलादिसामुक्त वडा घोषणा भएको भुटारमा २०७३ साल भदौ २१ गते देखि पूर्ण सरसफाइ अभियान शुरु भएको थियो ।
पूर्ण सरसफाइ वडा घोषणाका लागि ग्रामीण खानेपानी तथा सरसफाइ कोष बिकास समितिको आर्थिक तथा प्राविधिक सहयोगमा पेसोक नेपालले सहजीकरण गरेको पेसोक नेपालका अध्यक्ष सिर्जना दनुवारले बताउनुभयो ।
दिगो पूर्ण सरसफाइका लागि ७ बुँदे प्रतिबद्धता
दिगो पूर्ण सरसफाइका लागि स्वच्छ र सफा वडा घोषणा कार्यक्रममा सहभागी वडाबासीले ७ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
१. समन्वय समितिको सक्रियता निरन्तर गरी वास प्लान लाई पूर्ण रुपमा कार्यान्वयन गर्ने गराउनेछौं ।
२. पूर्ण सरसफाइ (व्यक्तिगत, घरायसी र वातावरणीय) युक्त स्वच्छ र सफा समुदायलाई कायम राख्नेछौं ।
३. सुरक्षित पानी र खानाको प्रयोग गरिरहनेछौं ।
४. सम्पूर्ण वातावरणीय सरसफाइ प्रबद्र्धन गरी खानेपानी र सरसफाइको क्षेत्रमा बजेट विनियोजन र कार्यान्वयन गराउनेछौं ।
५. पूर्ण सरसफाइका सुचकहरु (५+२) को अक्षरस पालना गरी आफू नमुना बन्दै अरुलाई उत्प्रेरित गराउनेछौं ।

आगामी दिनमा पूर्ण सरसफाइ अभियानका विकसित चरण उन्मुख क्षेत्र घोषणा तर्फ निरन्तर लम्किरहनेछौं ।
सरसफाइ नियमित गरिरहनुपर्ने काम भएकाले भुटारलाई स्वच्छ र सफा राख्न सबैको समान दायित्व हुने वडा नं. २ का वडा अध्यक्ष एवं स्वच्छ र सफा वडा घोषणा कार्यक्रमका सभापति खबिन्द्र बहादुर रास्कोटीले बताउनुभयो ।
यस्तै उदयपुरको क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुरेशकुमार राई हिमालले स्वच्छ र सफा वडा उदयपुर जिल्लाको शान भएकाले अन्य वडा तथा गाउँपालिकामा पनि पूर्ण सरसफाइ सम्बन्धी अभियानलाई व्यापकता दिनुपर्ने बताउनुभयो ।
स्वच्छ र सफा वडा घोषणा कार्यक्रममा प्रदेश २ ‘क’ का प्रदेशसभा सदस्य नारायण बुर्जा मगर, डिवाससिसिका प्रमुख तथा जिल्ला समन्वय समिति उदयपुरका खड्ग बहादुर परियार, डिवाससिसिका सदस्य रामकुमार श्रेष्ठ लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि र पत्रकार लगायत वडाबासीको सहभागिता थियो ।


1178 पटक हेरिएको 

