धनकुटा, उषा खड्का
कुनै समय विभिन्न रङ्गीविरङ्गी स्टिकर रहेको धनकुटाको महालक्ष्मी नगरपालिका ३ डाँडागाउँका सबै घरमा अहिले हरियो स्टिकर टाँसिएका छन् । सरसफाइमा सुधार गरी सबै घरले स्वस्थ घरको परिचय बनाएपछि वडा नं. ३ का ४ सय ५० घरमै हरियो स्टिकर टाँसिएपछि सबै घर एकनासका भएका छन् ।
त्यसअघि घरधुरी सर्वेक्षण गर्दा सरसफाइको अवस्था हेरी कुनै घरमा हरियो, कुनै घरका पहेंलो र कुनै घरमा रातो स्टिकर टाँसिएको थियो ।
स्वस्थ घरलाई हरियो, स्वस्थ उन्मुख घरलाई पहेंलो र अस्वस्थ घरलाई रातो स्टिकरले छुट्याइन्छ ।
तर डाँडागाउँका बासिन्दाको सरसफाइ प्रतिको चेतना र उत्साहले गर्दा क्रमिक रुपमा वडाका घरहरुमा पुर्ण सरसफाइका सुचकहरु भाडा सुकाउने चाङ, जुठ्यान निर्माण गर्ने, फोहोरको वर्गीकरण गरी निश्चित ठाउँमा व्यवस्थापन गर्ने र सार्वजनिक ठाउँको फोहोर समेत टोल टोलमा सरसफाइ समिति गठन गरी व्यवस्थापन गर्न थालेपछि अहिले सबै घर एकनासका भएका छन् ।

पुस ७ गते गरेको नगर खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुगमन टोलीले वडाका सम्पुर्ण घरले पुर्ण सरसफाइका सबै सुचकहरु पुरा गरेको निष्कर्ष निकालेपछि अस्ति सोमबार डाँडागाउँलाई पूर्ण सरसफाई उन्मुख स्वघोषणा तथा प्रमाणीकरण गरिएको छ ।
डाँडागाउँ अब महालक्ष्मी नगरपालिकाको पहिलो धनकुटा जिल्लाको दोश्रो पूर्ण सरसफाइ उन्मुख वडा भएको छ ।
पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्दै प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले मानव जीवनलाई अगाडि वढाउन स्वास्थ्य तथा सरसफाइ अति आवश्यक रहेको बताउनुभयो । उहाँले व्यक्तिगत, घरायसी तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिदै सरसफाइका क्रियाकलापलाई व्यक्ति, परिवार तथा समुदायले निरन्तरता दिनुपर्ने बताउनुभयो ।
घोषणा सभामा वडा स्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति अध्यक्ष एवं वडा अध्यक्ष भरत थापाले वडालाई पूर्ण सरसफाइ राख्न वडावासीले पालना गर्नुपर्ने आचारसंहिता सहित पूर्ण सरसफाइ उन्मुख स्वघोषणा तथा प्रमाणीकरण घोषणा पत्र वाचन गरेर सुनाउनुभएको थियो ।


1214 पटक हेरिएको 

