झापा : सरसफाइ अभियानकै अगुवा समेत खुला ठाउँमाा दिसा गर्छन् भन्दा अनौठो लाग्ला, तर झापाको पाठामारीमा गठन गरिएको वडा स्तरीय सरसफाइ कार्यदलका सदस्य सन्फराम बेगम र नुर मोहम्मद आलमको घरमा अहिले सम्म पनि चर्पी बनेका छैनन् ।
भारतीय नम्बर प्लेटको नयाँ गाडी किनेका नुर मोहम्मद आलमले गाडी किन्दा पैसा सिद्धिएकोले चर्पी बनाउन नसकेको बताउने गरेको सरसफाइ समितिको बैठकमा उपस्थित सदस्यहरुले बताए ।
वडा सदस्य खुस मोहम्मद आलमले चर्पी बनाउने सामान झार्दैछन् भने लीलादेवी सरदारले सरसफाइ सम्मेलनपछि चर्पी बनाउने सामानका लागि पैसा दिनुभएको छ । ‘पहिले बनाउनैपर्छ भन्ने भएन, खुस मोहम्मद आलमले भन्नुभयो ‘अब आफैले अभियानको नेतृत्व गर्नुपर्ने भएपछि त चर्पी बनाउनैप-यो नि ।’
झापाको कचनकवल गाउँपालिका – ५, पाठामारीका राजनीतिक अगुवा सफिउद्धिन मियाले पनि अझै चर्पी बनाउनुभएको छैन । ‘हामीले धेरै पटक अनुरोध गरिसक्यौं, तर पनि चर्पी बनाउनुभएको छैन’, खुल्ला दिसामुक्त अभियानका कार्यक्रम अधिकृत अर्जुनकुमार पाठकको प्रतिप्रश्न छ, ‘अगुवा नै बाटो हगुवा भएपछि सर्वसाधारणलाई बाटो देखाउने कसले ?’
झापा लगायत तराईका धेरै जिल्लामा नेता, राजनीतिक दलका कार्यकर्ता तथा सरकारी कर्मचारीले समेत चर्पी नबनाउँदा सर्वसाधारणलाई चर्पी बनाउन लगाउनु फलामको चिउरा चपाउनुभन्दा गाह्रो भएको सरसफाइ क्षेत्रका कर्मचारीहरु बताउँछन् ।
- विनोद धौलागिरि
उहाँ UN Habitat, Global Sanitation Fund Program झापामा District Coordinator का रुपमा कार्यरत हुनुहुन्छ


742 पटक हेरिएको 

