अम्बिका भण्डारी, मेचीनगर, झापा
देशमा विभिन्न जिल्लामा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन भइरहँदा झापाको मेचीनगर–५ स्थित टोकला चिया बगानमा भने शौचालय अभावमा श्रमिकहरुले दिसापिसाव गर्न नजिकैको चिया बगानभित्र लुक्नुपर्ने सकसबाट मुक्ति पाउन सकेका छैनन् ।
नेपाल चिया विकास निगम अन्तर्गतको टोकला चिया बगानमा कार्यरत ५ सय मध्ये ३ सय मजदुर बगानकै क्वाटरमा बसोबास गर्छन् । तर ती चिया श्रमिक कसैको आवासमा पनि शौचालय छैन ।
२०५७ सालदेखि निजी व्यापारिक घराना साङ्घाइको ‘त्रिवेणी ग्रुप’ ले लिजमा लिएको सो बगानमा श्रमिकहरुका लागि शौचालयको माग पटक पटक उठे पनि बगान व्यवस्थापन पक्षले यसमा चासो नदेखाएको श्रमिकहरुको भनाइ छ ।
“हामीले त पीडा खपेकै थियौं, पाहुनालाई चर्पी गर्न बगानतिर जानु भन्नु पर्दा हामीलाई सबैभन्दा बढी लज्जा हुन्छ”, बगानको क्वार्टरमा बस्दै आउनुभएकी श्रमिक अमृता दर्जी भन्नुहुन्छ “खान त बनिबुतो गर्दा पनि हुँदोरहेछ, तर दिसा बस्ने ठाउँ नहुँदाको पीडा साहै्र गाह्रो भो ।”
मेचीनगरकी अमृता विगत ३० बर्ष यता टोकला बगानकै क्वाटरमा बसेर मजदूरी गर्दै आउनुभएको छ । उहाँको उमेर ५४ बर्षको भइसक्यो । उहाँको जिन्दगी पनि चियाका पोथ्राबीच दिसा पर्दैमा बितिरहेको छ ।
सोही बगानकी मजदूर मान्ती उराऊ उमेरले ७० नाघिसकेकी र रोगी हुनुहुन्छ । वृद्धावस्थाका कारण घर वरिपरिभन्दा टाढा जान सक्ने अवस्था छैन । घरमा चर्पी नभएकाले दिसा लाग्दा उहाँ नातिनातिनाको सहयोग लिएर बोतलमा पानी बोकेर बगान पुग्नुहुन्छ । विहान बेलुका अरुको सहयोगमा बगानसम्म पुग्ने उहाँ विरामी पर्दा र रातको समयमा भने घरको आँगनमा नै दिसा गर्ने गरेको बताउनुहुन्छ ।
मान्ती विगत चार दशक भन्दा अघिदेखि त्यही बगानमा मजदूरी गर्दै आउनुभएको छ । उमेरका कारण विश्राम लिनुभएकी उहाँका छोरा बुहारी अहिले पनि मजदूरी गर्नुहुन्छ । ‘एकातिर बुढेसकाल अर्कोतिर विरामी’, उहाँले चर्पी नहुँदाको पीडा सुनाउँदै भन्नुभयो ‘यस्तो अवस्थामा खाएर फ्याँक्ने ठाउँ नहुँदाको पीडा कतिलाई सुनाउनु, मालिकलाई भन्यो आफैं बनाऊ भन्छन् ।’
राज्यको लक्ष्य : सरकारी बगानबाटै उल्लंघन
सरसफाइ गुरुयोजना २०६८ ले संघसंस्था, कार्यालय तथा निकायभित्रको सरसफाइको जिम्मेवारी सम्बन्धित संस्था एवम् प्रतिष्ठानलाई नै दिएको छ । संघसंस्थाहरु भित्र प्रयोगकर्तामैत्री शौचालयको व्यवस्था हुनुपर्ने सरसफाइ गुरुयोजनामा उल्लेख भए पनि टोकला चिया बगानले यसको ठाडो उल्लंघन गरिरहेको छ ।
टोकला चिया बगान ४९६ विघा १३ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको यो बगान त्रिवेणी गु्रपले ५० वर्षका लागि भाडामा लिए पनि उसले मजदुरका लागि शौचालय बनाएको छैन ।
बगानमा ५०० बढी मजदूर छन् । ३०० जना बगानकै निजी क्वाटरमा बस्ने गरेको मजदूरका नाइके रविन्द्र दाहालले बताउनुभयो । । क्वाटरमा मात्र होइन, मजदूरलाई दिउँसो कार्यस्थलमा पनि समस्या हुने गरेको उहाँले बताउनुभयो ।
मजदुरहरुले पटकपटक बगानभित्र सार्वजनिक शौचालय निर्माणका लागि माग गरे पनि व्यवस्थापन पक्षले बेवास्ता गरेको मजदुर पक्षको भनाइ छ ।
जताततै बगानभित्र शौच गरिएकाले पत्ती टिप्ने र चियाका बोट गोडमेल गर्ने बेलामा मजदुरहरुले नै दुर्गन्ध र फोहोरको सामना गर्दै आएका छन् ।


874 पटक हेरिएको 

