झापा, विनोद धौलागिरि
झापाको कचनकवल गाउँपालिका ५ नम्बर वडा कार्यालयका सहयोगी कर्मचारी धर्मेन्द्रकुमार गणेश र हुलाक कार्यालयका जयनारायण गणेश सरकारी कर्मचारी हुन् । तर उनीहरुकै घरमा भने चर्पी छैन ।
‘सरकारी तलव खाने कर्मचारीले बाँसघारीमा दिसा गर्न सुहाउँदैन, साविक पाठामारी–९ की महिला स्वास्थ्य स्वयंसेविका समियाला बेगमले वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकमा भन्नुभयो ‘मेरो घरमा पनि चर्पी थिएन, सरसफाइ सम्मेलन पछि मैले चर्पी बनाएँ, अब चर्पी नबनाउने हो भने कर्मचारीको तलव रोक्का गर्नुपर्छ, खुल्ला ठाउँमा दिसा गर्नेलाई नगद जरिवाना समेत गर्नुपर्छ ।’
यस्तै धारणा राख्नुहुन्छ साविक वडा नं. ४ की महिला स्वास्थ्य स्वयंसेविका जसना कुमारी गणेश । उहाँ भन्नुहुन्छ ‘अरुलाई स्वास्थ्य शिक्षा दिने हामी महिला स्वास्थ्य स्वयंसेविकाहरु र सरकारी कर्मचारीकै चर्पी नहुनु भनेको लज्जास्पद विषय हो ।’
अर्की महिला स्वास्थ्य स्वयंसेविका चानवत्ती राजवंशीको भने अहिले पनि शौचालय छैन । घर भएको ठाउँमा जग्गा कम भएको बहाना बनाएर उहाँले शौचालय नबनाएको सरसफाइ अभियानका एरिया संयोजक मोतीलाल राजवंशीले बताउनुभयो ।
साविक वडा नं. ५ की महिला स्वास्थ्य स्वयंसेविका लालमन खातुन समेत दिनहूँ दिसा गर्न खुल्लामा धाउनुहुन्छ । उहाँ मात्र होइन, जानकी आधारभूत विद्यालयका बाल शिक्षा कक्षाका शिक्षक कविता गणेश, अमिरन खाुतुन र प्रमिला गणेशको समेत चर्पी छैन ।
‘विद्यार्थीलाई सरसफाइ सिकाउने शिक्षिकाहरु आफै खुल्ला ठाउँमा दिसा गर्छन्, के शिक्षा दिनुहोला विद्यार्थीलाई ?’ खुल्ला दिसामुक्त अभियान सहजीकरण गरिरहेको विराट सामुदायिक अध्ययन केन्द्रका अभियान संयोजक महेन्द्र कार्कीले प्रश्न गर्नुभयो ।
श्री आधारभूत विद्यालयका शिक्षक मुसलेहारा खातुनको घरमा चर्पी बनाउने सामान झार्दैछन् भने पशुपति आधारभूत विद्यालय पाठामारीका सहयोगी कर्मचारी संजीत कुमार गणेशको चर्पी बनाउने सुरसार नै छैन ।


670 पटक हेरिएको 

