म्याग्दी : म्याग्दी खोलाको किनारमा १० मिटर गहिरो इनार खनेर त्यसभित्र समसिवल पम्प राखिएको छ । विद्युतीय शक्तिबाट चल्ने पम्पले खोलादेखि २५० मिटर उचाईको लभ्ली डाँडासम्म पानी तानेर पु-याइएको छ । खोला देखि ५ सय मिटरको दुरीमा रहेको लभ्ली डाँडा सम्म प्रतिघण्टा दश हजार लिटर पानी तानिरहेको हुन्छ । यसका लागि २० हर्ज पावर क्षमताको पम्प जडान गरिएको छ ।
कुनै समय म्याग्दी खोलामा मात्र बग्ने पानी अहिले लभ्ली डाँडामा पु-याएर सिचाई गर्न थालिएको छ ।
पानी खोल्न र बन्द गर्न भने मोबाइल एपको प्रयोग गरिएको छ । यसले खानेपानी चढाउन र बन्द गर्न खोलामै पुग्नुपर्ने बाध्यताको अन्त्य गरेको छ ।
एन्ड्रोइड मोबाइलमा एप्स इन्स्टल गरी सेटिङ गरेपछि अन बटन थिचेको करिब ७ देखि १५ सेकेन्ड भित्र पानी आउने र अफ बटन थिचेको सोही समयभित्र पानी बन्द हुने प्राविधिक कृष्ण खत्रीले जानकारी दिनुभयो ।

एकपटक पानी खोल्न र बन्द गर्न ८ रुपैयाँ खर्च हुने प्राविधिक खत्रीले बताउनुभयो । उहाँका अनुसार खोलाको किनारमा रहेको कन्ट्रोल रुममा मोटर, कन्ट्रोल बक्स, सर्किट र सिग्नल रिसिभर जडान गरिएको छ ।
मोबाइल नेटवर्किङ सिस्टम मार्फत बिजुली उपलब्ध भएको समयमा पानी तान्न सकिन्छ । घरमै बसेर एप्स मार्फत पानी खोल्न र बन्द गर्न सकिने हुँदा किसानलाई समयको बचत, कम खर्च र मानिसले कुरेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खत्री इलेक्ट्रोनिक्स सेन्टरका सञ्चालक समेत रहेका खत्रीले आयोजना सञ्चालनमा प्राविधिक सहयोग गरिरहेका छन् ।
६३ एमएमको पाइपबाट लभ्ली डाँडामा पु(याएको पानीबाट हाल किसानले सिंचाई गरिरहेका छन् । खानेपानीको अभाव हुँदा यो पानी खानेपानीका लागि समेत प्रयोग गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख रुपैयाँ अनुदान, किसानको चार लाख सात हजार नगद र चार लाख रुपैयाँको श्रमदान मार्फत खानेपानी पम्पिङ गरिएको समितिका अध्यक्ष कार्कीले बताउनुभयो ।
उहाँका अनुसार लभ्ली डाँडासम्म पु-याइएको पानी अर्को चरणमा खबराको सिम्ले हुँदै दारिमबोटसम्म विस्तार गर्ने योजना रहेको छ ।


814 पटक हेरिएको 

