चर्पीदाता अर्थात् केदार कटुवाल : छोराको जन्म दिनमा समेत चर्पी नै उपहार

 966 पटक हेरिएको

विनोद धौलागिरि, झापा

झापाको कमल गाउँपालिका–१ का केदार कटुवालको पहिचान अहिले फेरिएको छ । अघिल्लो वर्षसम्म राजनीतिक र सामाजिक कार्यकर्ताको रुपमा चिनिने केदार कटुवाल अहिले चर्पी दाताको रुपमा चिनिनुहुन्छ ।

उहाँले आफ्नो वडाका अति विपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्ने मात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहिनलाई चर्पी बनाउने सामान हस्तान्तरण गर्नुभयो ।

हालैको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष भएपछिको पहिलो काम उहाँले आफ्नो वडामा रहेका चार विद्यालयका एक एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णयबाट थालनी भयो, यो पनि व्यक्तिगत तवरमा ।

“मैले वडाको पैसाबाट नभै आफ्नै लगानीमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने सोंच बनाएको थिएँ”, उहाँले भन्नुभयो, “तर, गाउँमा खुल्ला दिसामुक्त अभियान चलेपछि छात्रवृत्ति कोष स्थापनालाई केही पर सारेर चार विद्यालयका एक एक जना विपन्न विद्यार्थीको घरमा चर्पी बनाउनका लागि आवश्यक सामान दिएँ ।”

चर्पी बनाउनका लागि उहाँले सिमेण्टका चार वटा रिङ, त्यसको ढक्कन, वाटरसिल प्यान र पाइप दिनुभएको छ । चर्पीको माथिल्लो संरचना तयार गर्नका लागि आफ्नो घरमा बाँस नहुनेलाई बाँस पनि सहयोग गर्नुभएको छ । “प्यान जडान गर्नका लागि सिमेण्ट समेत किन्न नसक्नेलाई सिमेण्ट समेत सहयोग गरेको छु”, उहाँले सुनाउनुभयो ।

यही पुस २ गते छोरा आगमन कटुवालको जन्मदिन । छोरालाई जन्म दिनको उपहारको विषयमा सोचिरहेका केदारलाई लाग्यो ‘कुनै एक विपन्नलाई चर्पी बनाउने सामान नै उपहार दिन पाए झनै भलो होला’

त्यसैले उहाँले दृष्टिविहिन बज्रबहादुर कार्कीलाई चर्पी बनाउने सामान हस्तान्तरण गर्नुभयो, त्यो पनि छोराको हातबाट । वडाध्यक्ष कटुवालतर्फ संकेत गर्दै बज्रबहादुरले भन्नुभयो, “उहाँकै गाडीमा सामान राखेर ल्याइदिनुभयो, चर्पी बनाउने बाँस पनि उहाँकै घरबाट ल्याएँ ।”

आफूले सामग्री सहयोग गरेर निर्माण गरिएको शौचालय र चर्पीधनी बज्रबहादुरका साथमा केदार कटुवाल

खुल्ला दिसामुक्त अभियानका क्रममा सञ्चारकर्मीहरुको टोली बज्रबहादुरको घरमा पुग्दा उहाँले भन्नुभयो, “बाँसको टाटी त आफै बनाएँ, अब सिमेण्ट पाएँ भने बाँसको टाटीमा सिमेण्ट लगाएर चिटिक्कको चर्पी बनाउथें ।” बज्रबहादुरको बोली खस्न नपाउँदै केदारले भन्नुभयो, “बजारको पसलमा आज सिमेण्ट आइसकेको छ, एक बोरा सिमेण्ट ल्याएर चिटिक्कको चर्पी बनाउनु । पैसा मेरो नाममा लेखिदिनु ।”

केदारको ‘चर्पी सपना’ सकिएको छैन । आफ्नो गाउँपालिकालाई नै खुल्ला दिसामुक्त गरेपछि मात्र वडाको नियमित काममा फर्किने उहाँको योजना छ । “अझै आठ दश जना विपन्नलाई व्यक्तिगत तवरबाट चर्पी बनाउने सामान दिंदा समुदाय खुल्ला दिसामुक्त हुन्छ भने हामीले सहयोग नगरे  कसले गर्ने ?”

“अब गाउँपालिकालाई नै खुल्ला दिसामुक्त घोषणा गर्दैछौं सहिद सप्ताहको अवसर पारेर”, सञ्चारकर्मीहरुको टोली गाउँबाट विदा हुनै लाग्दा उहाँले निमन्त्रणा गर्न पनि भ्याइहाल्नुभयो, “खुल्ला दिसामुक्त घोषणा समारोहमा पनि आउनुपर्छ है ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार