चर्पी बनाउन मुसहरलाई जग्गा दिने, आफू चाहिं नबनाउने पूर्व प्रधानपञ्च

 787 पटक हेरिएको

दिक्पाल गिरी, सिरहा : सिरहाको नरहा गाउँपालिका २ पानबारीका राम चरित्र यादवले साविकका देवीपुर गाविसका मुसहर जातिलाई आफ्नै जग्गामा चर्पी बनाउन दिनुभयो । मुसहरलाई चर्पी बनाउन जग्गा दिएपछि उनलाई प्रशंसा गर्नेको ओइरो नै लाग्यो ।

तत्कालीन गाविस स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष जीवन धिताल समेत रामचरित्रले मुसहरलाई चर्पी बनाउने जग्गा नदिएको भए देवीपुरलाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम असम्भव हुने तर्क गर्छन् । देवीपुरलाई सिरहाको २९ औं खुला दिसामुक्त गाविस घोषणा गरिएको थियो ।

पञ्चायतकालीन समयमा तत्कालीन पानबारी गाउँपञ्चायतको दुई कार्यकाल प्रधानपञ्च भइसकेका यादव आफूले भने चर्पी बनाएका छैनन् । उनलाई चर्पी बनाउन आग्रह गर्नेहरु नै थाकिसक्दा पनि उनले चर्पी नबनाएपछि केही समयअघि मुसहरलाई किन चर्पी बनाउन जग्गा दिए भन्ने कुराको सोधीखोजी गर्दै जाँदा बल्ल थाहा भयो कि ? मुसहरले जमीनदार रामचरित्रको जग्गामा खुला दिसा गर्दारहेछन् ।

चर्पी बनाउन जग्गा दिएपछि खुला दिसा रोकिने र जग्गामा फोहोर नहुने भएपछि चर्पी बनाउन जग्गा दिएको जमिनदार रामचरित्रले बताएका छन् ।

चर्पी बनाउन आग्रह गर्दै रामचरित्रको घर आँगन पुगेका सरसफाइ टोलीसँग रामचरित्रले चर्पी बनाउने बताएका छन् । हेरौं रामचरित्रको चरित्र यसपटक सुध्रिन्छ कि कतै ?

फोटो तथा सामग्री, पत्रकार देव यादवको सहयोगमा तयार पारिएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार