रसुवा : तेस्रो किस्ताको लागि फारम भरेको महिनौं भइसक्दा समेत रकम निकासा नभएपछि रसुवाको उत्तरगया गाउँपालिका ४ का प्रेमनाथ न्यौपाने छट्पटाउन थाल्नु भयो । घर बनाउँदा छिमेकीबाट सरसापट लिएको पैसा तेस्रो किस्ता आएपछि तिरौंला भन्ने लागेको प्रेमनाथलाई समयमै किस्ता नआएपछि पर्नु पीर प-यो र जानुभयो जिल्ला आयोजना कार्यान्वयन इकाईमै । त्यहाँ पुगेपछि बल्ल थाहा पाउनुभयो ‘चर्पी नबनाएकाले रकम रोक्का राखेको रहेछ ।’
‘मैले घर बनाएपनि चर्पी र पाली बनाउन बाँकी थियो, दोस्रो किस्ता त फारम भरेको २० दिनमै पाएको थिएँ, यसपाली एक महिना भन्दा बढी हुँदा पनि पैसा नआएपछि आफै गएँ, बल्ल पो चाल पाएँ, चर्पी बनाएको भए मेरो अन्तिम किस्ता पनि पहिले नै आउने रहेछ ।’ न्यौपानेले भन्नुभयो ।
सरकारी अनुदानमा घर बनाएर चर्पी नबनाउने प्रेमनाथ न्यौपाने जस्ता रसुवा जिल्लाका एक हजार भन्दा बढी भूकम्प प्रभावितको तेस्रो किस्ताको रकम रोक्का भएको छ । सरकारी मापदण्ड बमोजिम नै घर बनाएपनि चर्पी नबनाएकाले तेस्रो किस्ताको रकम निकासा नदिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
अनुदान वितरण कार्यविधिले चर्पीलाई अनिवार्य गरिएकाले चर्पी नबनाएमा वा नवीकरणीय उर्जाको व्यवस्था नभएमा तेस्रो किस्ता रोक्का राख्ने प्रावधान रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।
‘पहिलो किस्ताको रकम पाएपछि भूकम्प प्रभावितले घर बनाउन शुरु गर्छ, त्यसपछि जगसम्म निर्माण गरेपछि इञ्जिनियरहरुले भूकम्प प्रतिरोधी हो भनेर सुनिश्चित गरेपछि दोस्रो किस्ताको रकम पाउँछ । जब छानो छाउने चरणमा पुग्छ त्यसपछि तेस्रो किस्ताको रकम माग गर्न सक्छन्, तेस्रो किस्ताको रकम दिने बेलामा त्यसलाई दुईवटा शर्त दिएको हुन्छ । या त उसले शौचालय निर्माण गर्नुपर्छ या त कुनै बैकल्पिक उर्जाको व्यवस्था गरेको हुनुपर्छ । ऊ सँग विजुलीको व्यवस्था छ भने बैकल्पिक उर्जाको आवश्यकता परेन, त्यसकारण सरकारको अनुदान लिएर घर बनाउनेलाई शौचालय पनि बनाउनुपर्ने गरी बाध्यकारी बनाएको छ’ भुसालले भन्नुभयो ।
रसुवामा ११ हजार ६२९ परिवारसँग घरको पुनःनिर्माण गर्ने सम्झौता भएकोमा अहिलेसम्म ९ हजार ८९८ परिवारले पहिलो किस्ता लिएका छन् । दोश्रो किस्ता लिएका २ हजार ४३९ मध्ये १ हजार ३२२ परिवारले मात्र तेस्रो किस्ता लिन सफल भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार रसुवामा अहिलेसम्म २ हजार ५१४ घर निर्माण सम्पन्न भएका छन् ।
२०७२ बैशाख १२ को भूकम्पले रसुवामा ११ हजार ६ सय २९ घर पूर्णरुपमा भत्किएका थिए ।


717 पटक हेरिएको 

