बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं. ४ मा रहेको भुमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरसफाई सम्वन्धी ज्ञान पाउँदा विद्यालय सेवा क्षेत्रका समुदाय समेत लाभान्वित भएका छन् । विद्यालयमा सञ्चालित सरसफाइ कार्यक्रमवाट सिकेको ज्ञान सीप छात्रछात्राले आफ्ना अभिभावक सम्म पु-याएर पूर्ण सरसफाइको विषय समुदायमै फैलाइरहेका छन् ।

सरसफाइ सम्बन्धी विद्यालयमा सिकेको ज्ञान घरमा पनि आदानप्रदान गरेको र आमा बुबा मार्फत छिमेकी सम्म पुग्ने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा तुलसी महराले बताउनुभयो । ‘हामीले आमा बुबासँग स्कुलमा सिकेको कुरा गरेमा त्यही कुरा छिमेकीलाई पनि सुनाउनुहुँदो रहेछ, मेरा छोराछोरीलाई स्कुलमा सर मीसले यस्तो कुरा सिकाउने रहेछ, उस्तो कुरा सिकाउने रहेछ भनेर भन्नुहुँदो रहेछ अनि हामीले सिकेको कुरा समुदायसम्म फैलिदो रहेछ’ तुलसी महराले भन्नुभयो ।
सरसफाइले विद्यालयमा शैक्षिक वातावरण निर्माण
विद्यालयमा सञ्चालन गरेको सरसफाइ कार्यक्रमले शैक्षिक वातावरण निर्माण गरेको शिक्षकहरु बताउँछन् । विद्यार्थीहरुले हात धुने तरिका, शौचालयको प्रयोग जस्ता विषयमा जानकारी हासिल गरेर सावुन पानीले हात धुने वानीको विकास भएपनि विद्यालय आउँदा सफा सुग्घर भएर आएको र यसले शैक्षिक वातावरण निर्माण भएको शिक्षक वीरेन्द्र चन्दले बताउनुभयो ।
‘पहिले पहिले छात्रछात्राहरुले समेत शौचालयको प्रयोग नगर्ने तथा नङ नकाट्ने विद्यार्थी हिजोआज सफासुग्घर भएर आउँछन् । विद्यालय आसपास प्लाष्टिक तथा अरु फोहोर फाल्ने गरे पनि अचेल चारै तिर सफासुग्घर छ’ शिक्षक वीरेन्द्र चन्दले भन्नुभयो । पानीजन्य रोगका कारण संक्रमित हुने गरेका कयौँ विद्यार्थीहरु विद्यालय सरसफाइ कार्यक्रम बाट लाभान्वित भएका छन् ।
युनिसेफ नेपालको सहयोगमा भुमेश्वर सामुदायिक विकास संघद्धारा सञ्चालित विद्यालय सरसफाइ कार्यक्रमबाट भुमेश्वर माध्यमिक विद्यालय पूर्ण सरसफाइयुक्त विद्यालय घोषणा भइसकेको छ ।
खोलाखोल्सी धाउने विद्यार्थीलाई सुविधाजनक शौचालय
विगतमा विद्यालयमा चर्पी नहुँदा नजिकैको खोलाखोल्सीमा धाउने विद्यार्थी अहिले सुविधायुक्त चर्पी प्रयोग गर्छन् । अहिले विद्यालयमा छात्रछात्राका लागि छुट्टाछ्ट्टै र बालमैत्री तथा छात्रामैत्री चर्पी बनेका छन् ।
छात्रछात्राले पूर्ण सरसफाइ सम्वन्धी अभियान सञ्चालन गरेपछि विद्यालय नजिकका वस्तीहरु भेल्ले गाउँ, भट्ट गाउँ लगायत अरु गाउँमा पनि चर्पीको प्रयोग गर्नेको संख्या बढेको छ । विद्यालयसँगै स्वास्थ्यचौकी समेत भएकाले पनि स्वास्थ्य तथा सरसफाइ सम्बन्धीका विषयमा विद्यार्थी सचेत छन् । विद्यार्थीले ६–६ महिनामा जुकाको औषधी समेत खाने गरेका छन् ।
२००८ सालमा स्थापना भएको भुमेश्वर माध्यमिक विद्यालयमा अहिले ३५० जना विद्यार्थी अध्ययनरत छन् ।


826 पटक हेरिएको 

