बर्षौ वित्दा पनि नबनेको चर्पी : निर्णय १ छिनमा, चर्पी ३ दिनमा

अर्जुन अपवाद, धनुषा

‘जिन्दगी चलेकै छ, किन चाहियो चर्पी ?’ सबैला नगरपालिका ४ पटेर्वाकी सवितादेवी मुखियालाई चर्पीको विषयमा कुरा गर्दा यस्तै लाग्थ्यो । २ छोरा र १ छोरीका आमा सवितादेवीलाई आफ्ना लागि चर्पी कहिल्यै आवश्यकताको विषय लागेकै थिएन । चर्पीको विषयमा कुरा गर्न आउनेहरुलाई उहाँले धेरै पटक गाली गरेर पनि पठाउनुभयो ।

२ वर्षदेखि गाउँमा खुल्ला दिसामुक्त अभियान चलिरहेको छ । बेला बेलामा सहयोगी संस्था समाज उत्थान युवा केन्द्र (सुयुक) का सरसफाइ प्रज्वलकहरु आइरहन्थे । गाउँका अगुवाहरु पनि चर्पी बनाउन भन्न आए । केहीलाई अव बनाउँछु भनेर आस्वासन दिएर पठाउनुभयो, केहीलाई बनाउँदिन भनेर झपारेर फर्काउनुभयो ।

साविकको पटेर्वा गाविस स्थानीय तह पुनसंरचनाका क्रममा सबैला नगरपालिकाको ४ नं. वडा भयो । नयाँ जनप्रतिनिधिहरु चुनिएर आए । सरसफाइ अभियानले पनि तिब्रता पायो । गाउँमा विहान र बेलुका गस्ती गर्न वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले निर्णय ग-यो ।

फोटो : परिवारको साथमा सवितादेवी मुखिया, पृष्ठभूमिमा भर्खरै बनाएको चर्पी ।

यसपछि त खुल्ला दिसा हुने स्थानमा ठाउँहरुको पहिचान गरी बिहानै टोली खटिन थाले । सबेरै उठेर दिसा गर्न जाने खुला ठाउँमा मानिसहरु देखेपछि सविता देवीलाई आपत प-यो । ‘सबैतिर मान्छे थिए, त्यो दिन समयमा दिसा गर्न नपाउँदा मलाई चर्पी बहुत आवश्यक रैछ भन्ने महसुस भयो ।’ सविताले चर्पी नहुँदा परेको आपत सुनाउनुभयो ।

 

त्यसदिन भोगेको हैरानीपछि उहाँले चर्पी बनाउने विषयमा चासो देखाउनुभयो । श्रीमान् गंगा मुखियासँग चर्पी बनाउने विषयमा सल्लाह गर्नुभयो । श्रीमान्ले पनि उहाँको प्रस्ताव स्वीकार्नुभयो । चर्पी बनाउने निर्णय एकैछिनमा पारित भयो । त्यसपछि चर्पी बनाउन सामान जुटाउन थाल्नुभयो । गाउँमा नै रिङ्ग उत्पादन गर्ने काम भैरहेको थियो । उहाँले रिङ्ग र अरु सामानको जोहो पनि तत्काल गर्नुभयो ।

‘सामान जुटाउन १ दिन लाग्यो, सामान ढुवानी तथा संरचना निर्माण गर्न थप २ दिन लाग्यो । तेस्रो दिनमा त चर्पी नै तयार भयो’ खुसी हुँदै सविताले भन्नुभयो । पछिल्लो पटक सुयुकका कर्मचारीहरु घरमा पुग्दा उहाँको घरमा चर्पी देखेर छक्क परे । ‘चर्पी बनाउनुपर्छ भन्दा रिसाउनुहुन्थ्यो । तीन दिनमै चर्पी बनाइसक्नुभएछ । हामी त छक्कै प-यौं’ सुयुकका सरसफाइ प्रज्वलक कमलदेव मण्डलले भन्नुभयो ।

‘चर्पी बनाउन धेरै समय र पैसा खर्च हुन्छ भन्ने लाग्थ्यो तर त्यसो होइन रहेछ । चर्पी बनाउँदा ११ हजार रुपैंयाँ खर्च भयो । ३ दिनमै बनाएर सकियो’ सविताले भन्नुभयो । १ हजार ८६ घर रहेको सबैलाको ४ नं. वडामा सरसफाइ कार्यक्रम सञ्चालन हुनुअघि २ सय २६ घरमा मात्र चर्पी बनेको थियो ।UN Habitat सँगको सहकार्यमा सुयुकले खुल्ला दिसामुक्त अभियान सञ्चालन गरेपछि अहिले अधिकांश घरमा चर्पी बनेका छन् ।

ढिलोमा २ हप्ताभित्र वडालाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीका साथ काम भइरहेको वडाध्यक्ष एवं वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक कुशेश्वर ठाकुरले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार