मनिराज पाण्डे, कालिकोट : महिनावारी भएका बेला छात्राहरु विद्यालयमा नआउने समस्या बढेपछि कालिकोटको पलाँता गाउँपालिकामा रहेको सरस्वती माध्यमिक विद्यालय थिर्पुमा आधुनिक शौचालय बनाउने भएको छ । विद्यालयले किर्डाक नेपालको आर्थिक सहयोगमा युरिनल, इन्सिनेटर, प्याड फेर्न मिल्ने स्थान र हात धुने ठाउँ सहितको प्रयोगकर्तामैत्री शौचालय बनाउन लागेको हो ।
शौचालय तथा खानेपानीका लागि करिब ३१ लाखको लागत इस्टिमेट र डिजाइन तयार भइ स्वीकृत हुने क्रममा रहेको किर्डाक नेपालका जिल्ला संयोजक तुलाराम पाण्डेले बताउनुभयो । थिर्पुमा बन्ने शौचालय जिल्लाकै नमुना शौचालय हुने पलाँताका प्रशासकीय अधिकृत लेखबहादुर क्षेत्रीले बताउनुभयो ।

इस्टिमेट स्वीकृत भएपछि फागुन पहिलो हप्ताबाट काम शुरु हुने सामाजिक प्राबिधिक हर्कबहादुर शाहीले बताउनुभयो । वडा नं. ९ लाई ह्याप्पी होम वडा वनाउन आवश्यक तयारी थालिएको वडा अध्यक्ष टक्कबहादुर बमले बताउनुभयो । ह्याप्पी होम वडा बनाउन गाउँटोल सरसफाइ, आधुनिक तरकारी खेती, महिनावारी ब्यवस्थापन, शुद्ध खानेपानी, बाटो मर्मत सुधार, सडक निर्माण, बालमैत्री भौतिक संरचना निर्माण लगायतका काम भइरहेको वडा अध्यक्ष बमले बताउनुभयो ।
किर्डाक नेपाल दिगो खानेपानी सरसफाइ तथा स्वच्छता परियोजना सँगको समन्वयमा आधुनिक शौचालय बनाउन थालिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनुभयो । बिद्यालयमा शौचालय निर्माण सँगै शुद्ध खानेपानी समेत आपूर्ति हुनेछ । विद्यालयमा हाल २ सय ६७ छात्र र २ सय ५९ छात्रा गरी ५ सय २६ जना विद्यार्थी अध्ययनरत छन् ।
छात्रामैत्री शौचालय नहुदा छात्राहरुको उपस्थितिमा कमी भएपछि बिद्यालयले आधुनिक शौचालय बनाउने तयारी थालेको बिद्यालय निरिक्षक कलबहादुर भण्डारीले बताउनुभयो । शौचालय निर्माण भएपछि शौच गर्नकै लागि घरघर चाहार्दै हिड्नुपर्ने समस्याको अन्त्य हुने र छात्रा उपस्थिति बढ्ने अपेक्षा गरिएको छ ।


818 पटक हेरिएको 

