दिक्पाल गिरी, सिरहा : सिरहाको नरहा गाउँपालिका – ३ पानबारीका रासलाल यादव पूर्व निजामति कर्मचारी हुन् । रासलाल अमिन पदमा पेन्सन पकाएर सेवा निवृत्त भएको त्यत्ति धेरै भइसकेको छैन । अहिले पनि अरुकै जग्गा जमिनको नापनक्सा तयार पारेर दैनिक हजारौं कमाउँछन् । तर आफ्नै चर्पीको नक्सा भने अहिलेसम्म कोरेका छैनन्, रासलालले ।

रासलालको जेठो छोरो भारतबाट इंञ्जिनियरिङ गर्दैछन् । ३ छोरा र एक छोरीका बुबा रासलालले अरु २ छोरालाई पनि सुविधा सम्पन्न विद्यालयमा पढाएका छन् । तर चर्पी बनाउने कुरा गर्दा रासलाललाई मुरीको भारी बोक्नु भन्दा पनि गाह्रो हुन्छ ।
चर्पी बनाउने कुरा गरे उनी हरेक बहाना बनाउँछन् । दाजुभाइ अलग अलग बस्न थालेको बर्षौ भएपनि रासलालको दाजुभाइ बीच जग्गा अंशबण्डा भएको छैन रे ! ‘जग्गा अंशबण्डा भएकै छैन, मैले चर्पी बनाए त्यो जमिन पछि कुन भाइको भाग पर्छ ? त्यसैले म बनाउन सक्दिन ।’ रासलालले भने ।
रासलालको घर सँगै जोडिएको छ, अर्का धनाढ्य रामचरित्र यादवको घर पनि । रामचरित्र जमिनदारमा त हो नै, पूर्व प्रधानपञ्च समेत हुन् । विक्रम सम्बत २०४० सालताका नै लगातार दुई कार्यकाल तत्कालीन पानाबारी गाउँ पञ्चायतका प्रधानपञ्च भइसकेका रामचरित्रले पनि अनेक बहाना बनाएर अहिलेसम्म चर्पी बनाएका छैनन् ।

रामचरित्रलाई चर्पी बनाउन आग्रह गर्दै दशौं पटक उनको घर आँगनमा पुगिसकेका प्रज्वलकहरु थाकिसक्दा पनि उनले चर्पी बनाएका छैनन् ।
पछिल्लो पटक सरसफाइ टोलीसँग रामचरित्र र रासलाल दुवै चर्पी बनाउने प्रतिबद्धता जनाएका छन्, हेरौं राम र रास कुन चाहिंले अघि बनाउँछन् ?
पत्रकार देव यादवको सहयोगका तयार पारिएको ।


796 पटक हेरिएको 

