काठमाडौ : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले सिरहाको विभिन्न स्थानीय तहमा खानेपानी र सरसफाइ अधिकार सम्बन्धी जनचेतना जगाइरहेको छ । फेडवासनले ती नगरपालिका तथा गाउँपालिकामा खानेपानी र सरसफाइका विषयमा अन्तर्राष्ट्रिय दस्तावेज तथा संविधान र ऐन कानुनमा भएको व्यवस्था, अधिकार र सुरक्षित खानेपानी उपभोग कसरी गर्ने भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो ।
खानेपानी र सरसफाइ अधिकार सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रम, अधिकारमुखी अवधारणामा जानकार गराउने खानेपानी र सरसफाइको अधिकार तथा दैनिक जीवनमा यसको आवश्यकता सम्बन्धी जानकारी गराउन तथा खानेपानी र सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमा स्थानीय निकायको भूमिका र गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन गर्ने उद्देश्यले आयोजना गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ जिल्ला शाखा सिराहाको सहकार्य तथा वाटर एडको आर्थिक सहयोगमा भएको खानेपानी र सरसफाइ अधिकार सम्बन्धी १ दिने अन्तरक्रियामा दैनिक जीवनमा पानीको आवश्यकता, पानीका मुहान तथा श्रोत, शुद्ध खानेपानी र सरसफाइको अभावमा हुने असर तथा जोखिम र विपद्को समयमा खानेपानीको गुणस्तरका विषयमा व्यापक छलफल गरिएको थियो ।
छलफल पछि खानेपानी तथा सरसफाइ अधिकार तथा सूचकहरुको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा भएका आधार तथा सूचकहरुको विषयमा छलफल, जननिर्वाचित पदाधिकारी सँग खानेपानी तथा सरसफाइ सम्बन्धी गाउँपालिकामा भएका समस्या र गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ उपभोक्ता महासंघको आवश्यकता विषयमा पनि छलफल भएको थियो ।
उपलव्धीहरु :
खानेपानी र सरसफाइ अधिकार सम्बन्धी १ दिने अन्तरक्रिया कार्यक्रमबाट लक्षित समुदायमा निम्न उपलब्धीहरु हासिल भएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले जनाएको छ ।
- स्थानीय सरकार, वडा अध्यक्षहरुका साथै उपभोक्ता समितिका पदाधिकारीहरु अधिकारमुखी अवधारणाका बिषयमा जानकार भएका छन् ।
- खानेपानी र सरसफाइको अधिकार तथा दैनिक जीवनमा यसको आवश्यकता सम्बन्धमा जानकारी भई खानेपानी र सरसफाइ अधिकार तथा सूचकहरुका विषयमा जानकारी हासिल गरेका छन् ।
- खानेपानी र सरसफाइ तथा स्वच्छता प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका सम्बन्धी सम्बन्धित पदाधिकारीले दायित्व बोध गरेका छन् ।
- गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ उपभोक्ता महासंघको तदर्थ समिति गठन भएको छ ।


953 पटक हेरिएको 

