सरसफाइ अभियन्ता कार्कीको निधन, वास क्षेत्रमा अपूरणीय क्षति

काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रका अभियन्ता ध्रुव कार्कीको निधन भएको छ । काठमाडौको मिनभवनमा बा ९० प ६०६४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा न्यूरो अस्पताल बाँसबारीमा निधन भएको नयाँ बानेश्वरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि पौडेलले जानकारी दिनुभयो ।

 

 

शुरुमा कार्कीलाई ट्रमा सेन्टरमा लगिएपनि त्यहाँबाट न्यूरो अस्पताल बाँसबारीमा रिफर गरिएको थियो । अस्पतालले उहाँलाई गयराती २ बजेतिर मृत घोषणा गरेको हो ।

डिएसपी पौडेलका अनुसार मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् र उनीमाथि कारवाही प्रक्रिया अघि बढिसकेको छ ।

 

उहाँको निधनले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै खानेपानी र सरसफाइ क्षेत्रमा काम गर्ने संघसंस्थाका पदाधिकारीले सरसफाइक्षेत्रको होनहार व्यक्ति गुमाएको उल्लेख गरेका छन् । साथै शोकको यस दुःखद घडीमा शोकाकुल परिवार प्रति धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।

कार्कीले विभिन्न संघसंस्थामा रही खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी काम गर्नुभएको छ । नेपालमा सरसफाइ गुरुयोजना २०६८ लागु हुनु भन्दा अघि देखि नै उहाँले केयर नेपालमा रहँदा समुदायलाई खुला दिसामुक्त गर्ने अभियानको अभ्यास गर्नुभएको थियो । 

उहाँले केयर इन्टरनेशनल नेपाल, केयर नेपाल, युनिसेफ र सेभ द चिल्ड्रेन लगायत संघसंस्थामा रहेर खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा योगदान दिइसक्नुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार