झापा, शिवसताक्षी
झापाको शिवसताक्षी नगरपालिकामा शौचालय प्रयोग गराउन प्रहरी परिचालन गरिएको छ । बनाएको शौचालयमा ढोका लगाएर खुला ठाउँमा दिसापिसाब गर्ने क्रम नरोकिएपछि नगरपालिकाले प्रहरी परिचालन गरेको हो ।
शौचालय प्रयोग गराउन विभिन्न कार्यक्रम सञ्चालन गर्दा समेत अटेर गरेपछि प्रहरी परिचालन गर्न बाध्य भएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र शेर्माले बताउनुभयो । उहाँका अनुसार शिवसताक्षी नगरपालिकाको वडा नं. ६, ७, ९, १० र ११ मा प्रहरी परिचालन गरिएको छ ।

‘हामीले शौचालय प्रयोग गर्ने तरिका सिकायौं, नगरपालिकाबाट दिइने सेवा सुविधा नदिने भन्यौं, चर्पी भएर पनि बाहिर दिसापिसााब गर्नेलाई पाँच सय रुपैयाँ जरिवाना तोक्यौं तर केही गर्दा पनि साध्य चलेन र प्रहरी नै परिचालन गर्न वाध्य भयौं’ नगर प्रमुख शेर्माले भन्नुभयो ।
जनप्रतिनिधिलाई मात्र नटेरेपछि प्रहरी परिचालन गर्नुपरेको नगरप्रमुख शर्माको भनाई छ । स्थानीयबासिन्दाले शौचालय प्रयोग गर्न नमानेपछि प्रहरी सँगै जनप्रतिनिधि पनि सँगसँगै गाउँ डुल्न थालेका छन् । शिवसताक्षीका कतिपयले माइखोलाको किनार, सताक्षी खोला र झरना खोलामा बनाइएको नहरको डिल तथा रतुवामाई वृक्षारोपण आयोजनाको जंगल क्षेत्रमा खुला दिसापिसाब गर्दै आएका छन् ।
शौचालय प्रयोग गराउन विराटको ४ जना परिचालित
शौचालय प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यले विराट अध्ययन प्रतिष्ठानले त चार जना सहजकर्ता नै परिचालन गरेको छ । तर, उनीहरूले समेत स्थानीयबासिन्दालाई सम्झाउन गाह्रो भएको उपप्रमुख भोजकुमारी नेपालले बताउनुभयो ।
विद्यालयले पनि बालबालिका मार्फत अभिभावकलाई शौचालय प्रयोग गर्न विभिन्न जुक्ति निकालिरहेको छ । तर विद्यालयको प्रयास समेत सार्थक हुन सकिरहेको छैन । शौचालय प्रयोग नगर्ने परिवारलाई पाँच सय जरिवाना गर्ने भन्दै घर घरमा पत्र पठाउँदा समेत अभिभावकले अटेर गरिरहेको शुक्र माध्यमिक विद्यालय चन्द्रडाँगीका प्रधानाध्यापक महेशकुमार खड्काले बताउनुभयो ।
अझै ११ सय शौचालय बनाउन बाँकी
शिवसताक्षी नगरपालिकामा अझै ११ सय घरमा शौचालय बन्नै बाँकी छ भने करिब १ सय ५० घरपरिवारले शौचालय भएपनि प्रयोग गर्न नमानेको खुला दिसामुक्त अभियानकी सहजकर्ता लीला नेपालले बताउनुभयो । उहाँका अनुसार ती समुदायलाई शौचालय प्रयोग गर्ने बानीको विकास गराउन सबैभन्दा समस्या भएको छ ।


791 पटक हेरिएको 

