डाँगिहाटलाई यसरी गरियो, खुल्ला दिसामुक्त घोषणा (फोटो फिचर)

विनोद धौलागिरि, डाँगिहाट (मोरङ)

मोरङ जिल्लाको साविक डाँगिहाट गाविस (हाल बेलबारी नगरपालिका, वडा नं. ८, ९, १० र ११) खुल्ला दिसामुक्त घोषणा भएको छ । कूल ११ वडा रहेको बेलबारी नगरपालिकामा यसअघि ३ वडा खुल्ला दिसामुक्त घोषणा भैसकेका थिए ।

मंगलबार आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले साविक डाँगिहाटलाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो ।

  

सो अवसरमा खुल्ला दिसामुक्त अभियान थालनी भएपछि आफ्नै लगानीमा र आफैले आफ्नो घरमा सुरक्षित शौचालय निर्माण गर्ने सगुन चौधरी र फागुलाल चौधरीलाई खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्ने ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था सामुदायिक विकास समाजका कार्यवाहक अध्यक्ष पार्वती प्रधान र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङका शान्ति मिश्रले दोसल्ला र सम्मानपत्रबाट सम्मान गर्नुभयो ।

 

सोही अवसरमा सरसफाइ अभियानमा सहयोग पु-याउने वडाध्यक्षहरु, वडा सदस्यहरु, सरसफाइ प्रज्वलक, वडा सदस्यहरु, विद्यालयका प्राचार्यहरु, बजार व्यवस्थापन समिति लगायतलाई सम्मान गरिएको थियो ।
कूल ४ हजार ९ सय ४ घरधुरी रहेको डाँगिहाटमा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ४ हजार १ सय ७२ घरधुरीमा सुरक्षित चर्पी रहेका थिए भने अभियानको क्रममा ७ सय ३२ घरधुरीमा सुरक्षित शौचालय निर्माण गरिएको हो ।

सो अवसरमा प्रमुख अतिथि सुवेदीले बाँकी वडाहरुलाई समेत छिटै खुल्ला दिसामुक्त घोषणा गर्नुपर्नेमा जोड दिनुभयो । दैनिक कार्ययोजना बनाएर सरसफाइ प्रवद्र्धनमा लाग्न वडाअध्यक्षहरुलाई उहाँले निर्देशन दिनुभयो ।

 

डाँगिहाट संयुक्त वडा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष गणेश अधिकारीको अधयक्षतामा भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर राजकिशोर यादव, सामुदायिक विकास समाजका कार्यकारी निर्देशक गंगा यादव लगायतले सरसफाइलाई प्रत्येक व्यक्तिको जीवनपद्धति बनाउँदै मोरङलाई पूर्ण सरसफाइउन्मुख बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

१७ स्थानीय तह भएको मोरङ जिल्लामा ५ स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् भने १२ स्थानीय तह खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । जसमध्ये एक स्थानीय तह सबै प्रक्रिया पूरा गरे पनि खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन ।

जिल्लाको सरसफाइ कभरेज ८७ प्रतिशत रहेको मोरङमा २७ हजार घरधुरीमा सुरक्षित शौचालयको पहुँच पुग्न बाँकी रहेको छ । जिल्लालाई नै २०७४ चैत्र मसान्तभित्रमा खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिइएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार