खोटाङ : खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा निर्माणाधीण रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
सुनकोसीको पानी लिफ्टिङ गरी लिच्कीराम्चेको कालापानीमा लैजान नदी किनारको पानी संकलन ट्यांकी, नदी किनारमा मेसिन राख्ने पम्प हाउस, नदी र गाउँको बीचको १० हजार लिटर क्षमताको दुईवटा रिजर्भ्वायर ट्यांकी तथा गाउँको सिरानमा ३० हजार लिटरको आरसीसी ट्यांकी निर्मा भइसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताउनुभयो ।
आयोजनाको १२ सय मिटर जीआई पाइप जडान गरिसकिएको छ भने पाइप अड्याउने सय वटा पिलर पनि बनिसकेको छ । कालापानी बस्तीमा पाइप जडानको काम पनि भइरहेको र करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको अध्यक्ष राउतले जानकारी गराउनुभयो ।
अध्यक्ष राउतका अनुसार आयोजनाका लागि निर्माणस्थलमा पानी तान्ने तीनवटा मेसिन, २५ केभीएका तीनवटा विद्युत ट्रान्सफर्मर, पोलिथिन पाइप लगायतका सामान ल्याई सके पनि जडान गर्न भने बाँकी छ ।

पानीको मुहान सुकेपछि सुनकोशीको पानी लिफ्टिङ
इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि लिच्किराम्चीको कालापानीमा सुनकोशीको पानी लिफ्टिङ आयोजना शुरु भएको हो । २०७२ साल चैतबाटै शुरु भएको आयोजनाले नदीभन्दा १८ सय मिटरमाथि रहेको गाउँमा पानी लिफ्ट गरेर ९७ धारामार्फत ११५ घरलाई वितरण गर्नेछ ।
खानेपानी आयोजना सर्भेका क्रममा २ लाख आर्थिक बर्ष २०७१/०७२ मा १० लाख ०७२/७३ मा १० लाख र २०७३/०७४ मा ७० लाख बजेट प्राप्त भएको खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय खोटाङले जनाएको छ । १ करोड ८० लाख रुपैयाँ लागत मध्ये ३६ लाख बराबरको श्रमदान उपभोक्ताले गर्ने खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय खोटाङका प्रमुख विजय ठाकुरले बताउनुभयो ।


843 पटक हेरिएको 

