बडघरले पूर्ण सरसफाइ अभियानको नेतृत्व गर्ने

🔗
4
Shares

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ का बडघरहरुले पूर्ण सरसफाइ अभियानको नेतृत्व गर्ने भएका छन् । विहीबार गेरुवा गाउँपालिका वडा नं १ को कार्यालय (साविक पाताभार गाविस) मा सञ्चालन गरिएको पूर्ण सरसफाइ सम्बन्धी अन्तरक्रियामा सहभागी बडघरले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

थारु समुदायमा टोल टोलमा बडघर, सचिव र चौकीदार चुन्ने परम्परा रहेको छ । वडा नं १ का अध्यक्ष दयाराम बैद्य थारुको अनुरोधमा वडा कार्यालयमा आयोजना गरिएको अन्य बिषय सम्बन्धी बैठकको अवसर पारेर यु.एन. ह्याविटाटका जिल्ला संयोजक विष्णु दवाडी, र आईडिएस नेपालका जिल्ला संयोजक तारा बहादुर खाती पूर्ण सरसफाइको कुरा गर्न त्यहाँ पुग्नुभएको थियो ।

कार्यक्रममा पूर्ण सरसफाइमा नमुना बनेका बढैयाताल र गेरुवाकै समुदायको फोटो र भिडियो प्रदर्शन गरी वडा नं १ का बडघरलाई समेत वडाको पूर्ण सरसफाइ अभियानलाई सफल पार्न उत्प्रेरणा जगाइएको हो ।

अन्तरक्रियामा वडा अध्यक्ष दयाराम बैद्य थारुले थारु समुदायको समग्र विकासमा बडघरको अहम् भूमिका हुने भन्दै पूर्ण सरसफाइको माध्यमबाट विकासमा फड्को मार्न र इज्जत बृद्धि गर्न सकिने बताउनुभयो ।

गेरुवा गाउँपालिका अन्तर्गतको लोहागढ़, गौचरण, बिन्द्रा, सुखार, मनाउ, पहाडेपुर्, बनकट्टी, पटवारीपुर, जनकनगर र गणेसपुर समुदाय पूर्ण सरसफाइमा नमुना बन्दैछन् ।

कार्यक्रममा २५ जना वडघर सहित ३५ जनाको सहभागिता थियो । गेरुवा गाउँपालिकाका साविकका ३ वटा गाविसहरु पाताभार, पशुपतिनगर र मनाउमा यु.एन. ह्याविटाटको सहयोगमा आइडिएस नेपाल/मायुस बर्दियाद्वारा ग्लोबल सेनिटेसन फण्ड कार्यक्रम अन्तर्गत पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार