चर्पी बनाउन दबाब सिर्जना गर्न बारामा ९ दिने चर्पी यात्रा

बारा : बाराको आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा चर्पी बनाउन दबाब सिर्जना गर्न चर्पी यात्रा शुरु गरिएको छ । साबिकको इनर्वामाल र टेढाकट्टी गाविसको टोल टोलमा वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा ९ दिने चर्पी यात्रा शुरु गरिएको हो ।

आदर्श कोतवाल गाउँपालिकालाई तोकिएकै समयमा खुला दिसामुक्त घोषणा गर्ने उद्देश्यले सबैको घरमा चर्पी बनाउन दबाब तथा उत्प्रेरित गर्न चर्पी यात्रा शुरु गरिएको समुदाय परियोजना इनर्वामालका फिल्ड सुपरभाइजर जितेन्द्र गिरीले जानकारी दिनुभयो ।

चर्पी यात्रामा वडा अध्यक्ष, वडा सदस्य, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, V-WASH-CC का सदस्य तथा समुदाय परियोजनाका कर्मचारीहरु सामेल हुने गरेको छ ।

 

चर्पी यात्रामा जसको घरमा चर्पी निर्माण भइसकेको छ, उसलाई घरैमा पुगेर सरसफाइ प्रमाणपत्र दिइन्छ भने जसको घरमा चर्पी निर्माण भएको छैन, उनीहरुलाई चर्पी निर्माण गर्न प्रेरित गरिन्छ ।

‘हामीले चर्पी नभएको घरलाई यही फागुन १ गते भित्र चर्पी बनाउन आग्रह गरेका छौं, त्यो अवधिभित्र पनि चर्पी नबनाएमा सरकारी स्तरबाट प्राप्त हुने कुनै पनि कामकाज र सेवा सुबिधा बाटै बञ्चित गराइने सूचना पनि जारी गरेका छौं’ सुपरभाइजर गिरीले भन्नुभयो ।

उहाँका अनुसार फागुन १ गते बाट बाहिर खुला रुपमा दिसा गर्नेलाई दण्ड जरिवाना गर्ने र प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गर्ने सम्मको जानकारी चर्पी यात्रामै गराईएको छ ।

यस्तो छ कार्यक्रम

बेल्जियम रेड्क्रसको सहयोग र नेपाल रेडक्रस सोसाइटी बाराको सहजीकरणमा सञ्चालित समुदाय परियोजना अन्तर्गत सञ्चालन गरेको चर्पी यात्रा यही २८ गते सकिनेछ । चर्पी यात्राको कार्यक्रम निम्नानुसार तय गरिएको छ ।

 

१. २५ गतेसम्म साबिकको इनर्वामाल गाविसको हरेक टोलमा

२. २६ देखि २८ गतेसम्म टेडाकट्टीको वडा नं. ३ र ६ मा पर्ने हरेक टोलमा

हरेक दिन ११ बजे सम्बन्धित ठाउँमा वडा अध्यक्ष, वडा सदस्य, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, V-WASH-CC का सदस्य तथा समुदाय परियोजनाका कर्मचारीहरु भेला हुन्छन् र टोलीले पूरै गाउँ टोल परिक्रमा गरी चर्पी निर्माण भइसकेका समुदायलाई सरसफाइ प्रमाणपत्र वितरण गरिन्छ भने चर्पी नभएको घरलाई चर्पी बनाउन प्र्रेरित गरिने समुदाय परियोजना इनर्वामालका फिल्ड सुपरभाइजर जितेन्द्र गिरीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार