झापाको महाभारा खुल्ला दिसामुक्त घोषणा

🔗
3
Shares

महाभारा (झापा) : झापा जिल्लाको दक्षिणी साविक महाभारा गाविस (हाल गौरीगञ्ज गाउँपालिका, वडा नं. १) खुल्ला दिसामुक्त घोषणा भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले समितिको तर्फबाट महाभारालाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो ।

 

१६५८ घरधुरी रहेको महाभारामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको साझेदार संस्था सगरमाथा सामुदायिक विकास केन्द्र/वातावरण संरक्षण मञ्च नेपालले खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्नुअघि ८ सय ८३ घरमा सुरक्षित शौचालय रहेका थिए भने अभियानको क्रममा ७ सय ७५ घरमा सुरक्षित शौचालयको निर्माण भएको थियो ।

कार्यक्रमका अध्यक्ष एवम् गौरीगञ्ज–१ का अध्यक्ष कार्तिकलाल राजवंशीले वडाको तर्फबाट पूर्ण सरसफाइ प्रतिवद्धता वाचन गर्नुभयो भने वडा सचिव भोजकुमार अधिकारीले सरसफाइ प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

घोषणा समारोहमा प्रमुख अतिथि पोर्तेलले झापाका सम्पूर्ण स्थानीय तहलाई यही चैत्र १५ गतेभित्रका खुल्ला दिसामुक्त अवस्थामा पु-याउन निर्देशन दिनुभयो । “आर्थिक र सामाजिक रुपान्तरणको माध्यमबाट मानव जीवनलाई समृद्धितर्फ दौडाउनुपर्नेमा हामी अझै पनि खुल्ला दिसामुक्त हुन सकेका छैनौं”, अध्यक्ष पोर्तेलको भनाइ थियो, “खुल्ला दिसामुक्त अभियानलाई यस वर्षभित्रै सम्पन्न गरेर नयाँ वर्षमा जिल्लालाई पूर्ण सरसफाइको यात्रामा अगाडि बढाउँला ।”

घोषणा समारोहमा प्रमुख अतिथि पोर्तेल, विशेष अतिथि गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतले खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने संघसंस्था र व्यक्तिहरुलाई जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट कदरपत्र समेत प्रदान गर्नुभयो ।

 

 

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले सिंगो गाउँपालिकालाई चैत्र १५ गतेभित्र खुल्ला दिसामुक्त अवस्थामा पु-याउनका लागि आफूले अभियानको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम/यू.एन. ह्याबिट्याटका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्माले पूर्ण सरसफाइको माध्यमबाट सामाजिक समृद्धिको यात्रामा निरन्तर लाग्न अभियानकर्ताहरु र स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो ।

 


छत्रकलालाई सरसफाइ योद्धा सम्मान, अभियानकर्ताहरुलाई विशेष सम्मान

वडा कार्यालय प्रांगणमा आयोजित खुल्ला दिसामुक्त घोषणा समारोहमा ९ महिना अघिदेखि खुल्ला दिसामुक्त अभियानमा निरन्तर कुशलतापूर्वक सहजीकरण गर्ने छत्रकला भण्डारीलाई ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम झापा र गाउँपालिकाको तर्फबाट सरसफाइ योद्धा सम्मान र कदरपत्र प्रदान गरियो ।

 

सो सम्मान प्रदान गर्दै प्रमुख अतिथि पोर्तेल र वडाध्यक्ष कार्तिकलाल राजवंशीले अन्य वडाहरुमा पनि सहजीकरणलाई निरन्तरता दिएर गाउँपालिकालाई नै पूर्ण सरसफाइउन्मुख बनाउने अभियानमा भण्ण्डारीको निरन्तर योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।


सोही अवसरमा महाभारामा खुल्ला दिसामुक्त अवस्था हासिल गर्नका लागि आवासीय क्याम्प सञ्चालन गरेका सोमनाथ आचार्य, अमरकुमार राय, ज्ञानु राजवंशी, सीता तामाङ, जानकी ताजपुरिया, दुर्गाप्रसाद गणेश, लाक्पा डोमा शेर्पा, सुमित्रा पासवान, सुमित्रा श्रेष्ठ लगायतका अभियानकर्ताहरुलाई विशेष सम्मान प्रदान गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार