NSHCC बैठकमा ‘फुटबल कथा’

काठमाडौ : ‘फुटबल खेलमा जब अन्तिम समय आउँछ, त्यत्तिबेला दुवै टीम गोलपोष्टमा फुटबल छिराउन अन्तिम बल लगाइरहेका हुन्छन् । हो, अहिले सरसफाइ पनि ठीक यस्तै अवस्थामा छ’ बैठकको अध्यक्षता गरिरहनुभएका सहसचिव ज्योति कुमार श्रेष्ठले सरसफाइलाई फुटबल खेल सँग तुलना गर्दै भन्नुभयो ‘गोल गर्ने बेला बढी शक्ति, बल त लगाउनै पर्छ, यो यही बेला हो, हामीले पनि अन्तिम शक्ति लगाउनै पर्छ ।’

 

सरसफाइको प्रगति ९६ प्रतिशत पुगे पनि अझै हजारौं घरमा चर्पी बन्न बाँकी रहेकाले यसमा क कसले के के गर्नुपर्ने हो ? सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर देशलाई २०७४ सालभित्रै खुला दिसामुक्त घोषणा गरेर देखाउनुपर्ने सहसचिव श्रेष्ठले बताउनुभयो ।

सरसफाइविद नमस्तेलाल श्रेष्ठले आगामी चैत्र भित्रै देशलाई खुलादिसामुक्त गर्नुपर्नेमा जोड दिनुभयो । चैत्रभित्रै खुलादिसामुक्त घोषणा गर्न सके सन् २०१७ भित्रै गरेको ठहरिने र यसलाई पूरकका रुपमा लिनुपर्ने बताउनुभयो । ‘एउटा चर्पी बनाउन पनि हप्ता दिन लाग्ने हो, हजारौं चर्पी बन्न पनि त्यत्ति नै लाग्ने हो, त्यसैले संख्याको आधारमा धेरै भएर अत्तालिनुपर्ने अवस्था पनि छैन, उहाँले भन्नुभयो ।’

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष अनिलभद्र खनालले सरसफाइ र फुटबल खेलको प्रसंग जोड्दै फुटबल खेलको निर्धारित ९० मिनेटको समय सकिएको र अतिरिक्त समयमा खेल खेलिरहेको बताउनुभयो ।

‘हामीले गोल पोष्टमा बल हान्नै पर्नेछ, हामीले ९० मिनेट पार गरेर दिएको अतिरिक्त समयको सदुपयोग गरिरहेका छौं र बल डि एरियामा छ, अब गोल हान्न मात्र बाँकी छ’ उहाँले भन्नुभयो ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको बुधबार बसेको बैठकमा देशलाई २०७४ साल भित्रै खुलादिसामुक्त राष्ट्र बनाउने दिशामा अग्रसर हुनेमा एकमत भएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार