विनोद कुमार महतो, धनुषा : धनुषामा सरसफाइ र गुणस्तरीय शिक्षाका विषयमा चेतना जगाउने उद्देश्यले प्रदेश सभा सदस्य ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा सप्ताहव्यापी साइकल यात्राको शुरुवात गरिएको छ । अभियानकर्ता यादवको अगुवाईमा शुरु भएको अभियान अन्तर्गत शुक्रवार बसविट्टी र कुर्थामा रहेका विद्यालयहरुमा सरसफाइ र गुणस्तरीय शिक्षाका बिषयमा छलफल गरिएको छ ।

शुक्रबार बसविट्टीको मावि र निमावि तथा कुर्थाको मावि र निमाविमा शिक्षक, विद्यार्थी तथा अभिभावकहरुसँग शिक्षाको गुणस्तर र सरसफाइको अवस्थाका विषयमा छलफल गरिएको प्रदेश सांसद यादवले जानकारी दिनुभयो । ‘प्रदेश नं.२ मा सरसफाइ र शिक्षाको अवस्था कमजोर रहेका कारण यो अभियान सञ्चालन गरिएको हो, छलफलको क्रममा सरसफाइलाई उच्च महत्व दिएर घर तथा विद्यालयमा पनि चर्पीको अवस्था सुधार गर्न भनेका छौं, चर्पी नभएको घरले चाँडो भन्दा चाँडो चर्पी निर्माण गर्न पनि आग्रह गरेका छौं’ प्रदेश सभा सदस्य ज्ञानेन्द्र कुमार यादवले भन्नुभयो ।
सप्ताह व्यापी अभियानको क्रममा गुणस्तरिय शिक्षा र सरसफाइ क्षेत्रको सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुसँग छलफल कार्यक्रम सञ्चालन गरिएको यादवले बताउनुभयो ।
अभियानको सुरुवातमा साइकल -याली निकालिएको थियो । -यालीमा संघी समाजवादी फोरमबाट प्रदेश सभा सदस्य लाल जि शरण यादव, जिल्ला कमिटी सदस्य शत्रुधन यादव, जिल्ला सदस्य रामसागर पण्डित, जिल्ला सदस्य विसुनदेव साह, जिल्ला सदस्य ललित मण्डल, पूर्व युवा अध्यक्ष ओमप्रकाश साह, जनकपुर उपमहानगरपालिका १९ का वडा सचिव सञ्जय यादव तथा वडा सदस्य मुन्नर यादव लगायतको सहभागिता थियो ।


773 पटक हेरिएको 

