बनियानीलाई यसरी गरियो, खुल्ला दिसामुक्त घोषणा (फोटो फिचर)

बनियानी (झापा)

झापाको कचनकवल गाउँपालिकामा पर्ने साविक बनियानी गाउँ विकास समिति खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन र जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबार आयोजित घोषणा समारोहमा बनियानीलाई खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो ।

 


झापामा खुल्ला दिसामुक्त घोषणा हुने बनियानी चौधौं स्थानीय इकाइ हो । हालको स्थानीय तह पुनः संरचना अनुसार दुई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् ।

१ हजार ५ सय ४५ घरधुरी रहेको कचनकवल गाउँपालिका, वडा नं. ६, बनियानीमा खुल्ला दिसामुक्त अभियानका क्रममा ६ सय ५६ घरमा सुरक्षित शौचालयको निर्माण भै सतप्रतिशत घरधुरीमा सुरक्षित शौचालयको पहुँच पुगेको हो ।

 

घोषणा समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङदेनले सरसफाइ सभ्यताको पहिलो सूचक भएकोले आधारभूत सरसफाइको सुविधा प्रत्येक घरधुरीमा आवश्यक भएको बताउनुभयो । ‘पश्चिमा मुलुकहरुलाई हामीले सभ्यता सिकायौं, तर अहिले उनीहरु अगाडि बढे, हामी पछाडि नै रह्यौं’, उहाँले भन्नुभयो, ‘सामाजिक परिवर्तनका लागि सामाजिक सभ्यता आवश्यक पर्छ, खुल्ला दिसामुक्त यसको पहिलो सूचक हो ।’

जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले सूर्योदयको जिल्ला झापा अझैसम्म खुल्ला दिसामुक्त नहुनु दुःखद भएको बताउनुभयो ।

‘२०७४ सालभित्र खुल्ला दिसामुक्त घोषणा गरौं, सबै स्थानीय तहले यसलाई पहिलो र एकमात्र एजेण्डा बनाएर अघि बढौं’ उहाँले भन्नुभयो ‘सभ्य र सरसफाइयुक्त भएपछि नयाँ वर्षमा आर्थिक र भौतिक विकासका कामको थालनी गरौंला ।’ सरसफाइ जनताको आधारभूत र संवैैधानिक अधिकारको रुपमा रहेको समेत अध्यक्ष पोर्तेलले स्मरण गर्नुभयो ।

कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले चैत्र १५ गतेभित्र आफ्नो वडालाई खुल्ला दिसामुक्त अवस्थामा पु-याउनका लागि दैनिक कार्ययोजना बनाएर काम गर्न सम्पूर्ण वडाअध्यक्षहरु र स्थानीय अगुवाहरुलाई निर्देशन दिनुभयो ।

 


ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम/यू.एन. ह्याबिट्याटका जिल्ला संयोजक विनोदप्रसाद शर्माले झापालाई तोकिएको मितिमा खुल्ला दिसामुक्त घोषणा गर्नका लागि दैनिक ३ सय ७५ चर्पी बनाउनुपर्ने भएकोले आपूर्ति पक्ष व्यवस्थापन र अभियानको रणनीतिक व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपानेले सामुहिक प्रयासबाटमात्र खुल्ला दिसामुक्त अवस्था हासिल गर्न सकिने भएकोले सबै साझेदारको संयुक्त प्रयास हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय कलाकारहरुले सरसफाइ गीत र नृत्य प्रस्तुत गरेका थिए ।

 

कचनकवल गाउँपालिका, वडा नं। ६ का वडाध्यक्ष कूलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा खुल्ला दिसामुक्त अभियानका सहजकर्ताहरु, आफ्नै लगानीमा शौचालय बनाउने अति विपन्न घरधुरी र अभियानका सहयोगीहरुलाई वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सम्मान गरेको थियो ।

 

विराट सामुदायिक अध्ययन केन्द्रले खुल्ला दिसामुक्त अभियानको सहजीकरण गरेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार