खरिहानी र ननुपट्टीमा चर्पीको गुणस्तर र सरसफाइको अनुगमन

विनोद महतो, धनुषा : खुल्ला दिसामुक्त अभियान कार्यक्रम अन्तर्गत धनुषा जिल्लाको साविकका खरिहानी र ननुपट्टी गाविसमा निर्माण गरिएको चर्पीको गुणस्तर र सरसफाइको अवस्था अनुगमन गरिएको छ ।

जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) धनुषाको टोलीले साविकका दुवै गाविसमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न अन्तिम चरणमा गरिने चर्पीको गुणस्तर र सरसफाइको अवस्थाका विषयमा अनुगमन गरेको हो ।

सबैला नगरपालिका वडा नं.१० खरिहानीका वडा अध्यक्ष एवं वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष परमेश्वर साह र ननुपट्टीमा शहीदनगर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष कन्हैया मुखियाको अध्यक्षतामा अनुगमन गरिएको हो ।

अनुगमन पछिको छलफलमा, अनुगमन टोलीका सदस्यहरु ।

अनुगमनको क्रममा देखिएका केही कमजोरी र समस्यालाई एक हप्ताभित्र सुधार गरी खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिने अनुगमनपछिको छलफलमा निष्कर्ष निकालेको छ । छलफलको क्रममा दुवै नगरपालिकाका वडा अध्यक्षले एक हप्ताभित्रै खुला दिसामुक्त घोषणाका लागि तयार हुने प्रतिबद्धता जनाउनु भएको छ ।

एक हप्ताभित्र खुला दिसामुक्त घोषणा गर्न सकिने

सरसफाइ गुरुयोजना २०६८ अनुरुप पहिलो चरणमा एक घर एक चर्पी निर्माण कार्यक्रम अन्तर्गत खरिहानीमा २०२० घरधुरी र ननुपट्टीमा ७५६ घरधुरीमा चर्पी निर्माण भएपछि डिवाससिसिले अनुगमन गरेको हो । अनुगमनको क्रममा डिवाससिसिले खरिहानीमा २० प्रतिशत घरधुरीमा र ननुपट्टीमा २५ प्रतिशत घरधुरीमा चर्पी अनुगमन गरेको अनुगमन टोलीले जनाएको छ ।

सबैला नगरपालिका वडा नं.१० मा पर्ने खरिहानी, गेरुवाही, अमरखना टोलमा र शहीदनगर नगरपालिका वडा नं. ४ मा पर्ने हौवाही, सिमराढी, ननुपट्टी र महुलिया टोलमा चर्पी अनुगमन गरिएको हो ।

डिवाससिसिको अनुगमन टोलीमा युएन ह्याविट्याट धनुषा संयोजक एवं डिवाससिसि कार्यदल सदस्य उमा सिम्खडा, डिवाससिसि सदस्य सुनिल यादव, अर्जुन दहाल, संजिव सिंह, विनोद कुमार महतो, सुजित कुमार मण्डल, कौशल्या कुशवाहा लगायत स्थानीय जनप्रतिनिधी र सरसफाइ अभियन्ताहरुको सहभागिता थियो ।
खरिहानीमा समाज उत्थान युवा केन्द्र र ननुपट्टीमा प्याक नेपालले खुल्ला दिसामुक्त अभियानको सहजीकरण गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार