विनोद धौलागिरि, भद्रपुर (झापा) : भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ अचेल दिउँसो कार्यालयमा भेटिनुहुन्न । प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको दैनिकी समेत उस्तै छ । उहाँहरु दैनिक दिउँसो २ बजे सरसफाइ प्रवद्र्धनका लागि घरदैलो गर्ने कार्यमा समुदायमा जानुहुन्छ ।

‘हामी अभियानकर्ताहरु मात्र समुदायमा गएर पुगेन’, भद्रपुर नगरपालिका खुल्ला दिसामुक्त अभियानका कार्यक्रम अधिकृत फणिन्द्र दाहाल भन्नुहुन्छ, त्यसैले नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत समेत घरदैलो गरी चर्पी बनाउन अनुरोध गर्ने, आवश्यक प्राविधिक सहयोग गर्ने र आपूर्ति पक्षको व्यवस्थापन गर्ने काममा खटिनुहुन्छ ।
उहाँहरुसँगै रहनुहुन्छ सामाजिक विकास शाखाका प्रमुख राजन न्यौपाने पनि । ‘हामी कार्यालयमा बसेर समुदाय खुल्ला दिसामुक्त नहुने रहेछ, त्यसैले दिउँसो दुई बजेसम्म कार्यालयको काम गर्ने र बाँकी समय समुदायमा पुग्ने तालिका बनाएका छौं’ न्यौपानेले भन्नुभयो ।
उहाँहरुलाई सघाइरहनुभएको छ सरसफाइ अभियानकर्ताले । ‘खुल्ला दिसामुक्त अभियानको प्राविधिक कुरा हामीले गर्छौं, नगरपालिकाको तर्फबाट भन्नुपर्ने कुरा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भन्नुहुन्छ’ अभियानका एरिया संयोजक सीताराम भण्डारीले बताउनुभयो ।
सूचना टाँसेरै अभियानमा
भद्रपुर नगरपालिका, वडा नं. २ पृथ्वीनगरका वडाध्यक्ष भीमबहादुर सुब्बा कार्यालयमा सूचना टाँस गर्नुका साथै सामाजिक सञ्जालबाट सूचना जारी गरेर खुल्ला दिसामुक्त अभियानमा निस्कनुभयो । ‘हाम्रो नगरपालिकाको इज्जतको सवाल छ’ वडाध्यक्ष सुब्बाको प्रतिवद्धता छ, ‘जसरी भए पनि यही चैत्र महिनाभित्रै हाम्रो नगरपालिकालाई समेत खुल्ला दिसामुक्त गर्नुपर्नेछ । त्यसैले तालिका बनाएरै लाग्ने निर्णय भएको छ ।’

वडाध्यक्ष सुब्बाले आफ्नो वडामा भेला गरी सामुहिक प्रज्वलन गर्ने, प्रतिवद्धता लिने, अटेरी गर्नेलाई सम्झाउने र अभियान सबैको सरोकारको विषय भएकोले समुदायका अगुवाहरुलाई जिम्मेवारी समेत दिनेगरी १० दिनको योजना बनाउनुभएको छ ।
आफ्नो वडाका सदस्यहरु र सामाजिक अगुवाहरुलाई लिएर दिउँसो २ बजेपछि तोकिएको टोलमा पुगेर भेला गरी सामुहिक छलफल गर्ने र सबैलाई चर्पी बनाउन अनुरोध गर्ने योजना अनुरुप सूचना जारी गरिएको सुब्बाले बताउनुभयो । ‘कम्तिमा १० दिनमा मेरो वडाका सबै घरमाम पुगेर त्यहाँको अवस्था बुझ्ने र उनीहरुको घरमा सुरक्षित शौचालय बनाउन लगाउँछु’, वडाध्यक्ष सुब्बाको योजना छ, ‘त्यसपछि केही दिनको समय दिएर फेरि समुदायमा जान्छु ।’
पहिलो चरणको अनुगमन गर्नुका साथै घरदैलो गरेर प्रतिवद्धता लिएपछि त्यसको निरन्तरता दिने जिम्मेवारी अभियानका सहजकर्ताहरुको रहने छ । यसैगरी, घरदैलोको क्रममा व्यक्त प्रतिवद्धता कार्यान्वयन भए नभएको हेर्न र अभियान ठीक ढंगले अगाडि बढाउनका लागि भद्रपुर नगरपालिकामा सामाजिक विकास शाखाका प्रमुख राजन न्यौपानेको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरिएको छ ।
अनुमगन समितिमा कार्यपालिका सदस्य, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधि र खुल्ला दिसामुक्त अभियानका कार्यक्रम अधिकृतलाई समेत समावेश गरिएको छ ।
‘समग्रमा हामीले अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि सहयोग गर्छौं’, अनुगमन समितिका सदस्य एवम् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति झापाका महासचिव बाबुराम कार्कीको भनाइ छ ।
अब सम्पूर्ण वडाको अभियान
वडा नं. २ मात्र नभै सबै वडाध्यक्षहरुलाई कार्यालयको समय व्यवस्थापन गरी खुल्ला दिसामुक्त अभियानका लागि योजना बनाउन अनुरोध गरिसकेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘अधिकांश जनप्रतिनिधिहरु खुल्ला दिसामुक्त अभियानको विषयमा नयाँ हुनुहुन्थ्यो, उहाँहरुलाई समेत पहिलो चरणको अभिमुखीकरण र फिल्डमा काम गर्ने तौरतरिकाको बारेमा जानकारी भैसकेको छ’, नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘अब आफ्नो वडाको अवस्था अनुसार योजना बनाएर अघि बढ्न मैले सुझाव दिइसकेको छु ।’
हाल स्थानीय तहको पुनःसंरचनाको क्रममा भद्रपुर नगरपालिकामा गाभिएको वडा नं. १ र २ मा खुल्लामा दिसा गर्नेभन्दा पनि असुरक्षित शौचालयको संख्या बढी भएको बताउनुहुन्छ सरसफाई अभियान सहजकर्ता रमला अधिकारी । ‘असुरक्षित शौचालयमा दिसा गर्नेको संख्या बढी भएकोले पनि हामीलाई प्रज्वलन गर्न कठिन भएको छ’ अधिकारीको भनाइ छ, ‘त्यसैले वडाध्यक्षहरुले दैनिक तालिका नै बनाएर टोल बस्तीमा पुग्नुपर्ने भएको छ ।’
यस्तै समस्या वडा नं. ४ र ५ मा समेत रहेको बताउनुहुन्छ सरसफाइ अभियान सहजकर्ता विकास राजवंशी । बाँकी वडाहरुमा समेत यसैगरी दैनिक तालिका बनाएर अभियान अगुवाइ गर्न आफूहरुले वडाध्यक्षलाई अनुरोध गरेको उहाँले बताउनुभयो ।


636 पटक हेरिएको 

