यस्तो देखियो, झापाको पहिलो नगरलाई खुला दिसामुक्त घोषणा गर्दा (फोटो फिचर)

विनोद धौलागिरि, कनकाई (झापा)

झापा जिल्लाको कनकाई नगरपालिका सोमबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । खुल्ला दिसामुक्त घोषणा हुने कनकाई झापाको पहिलो नगरपालिका र तेस्रो स्थानीय तह हो । प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य लालप्रसाद साँवा लिम्बू र विशेष अतिथि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले कनकाई नगरपालिका खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो ।

 

 

कार्यक्रमका प्रमुख अतिथि सांसद एल.पी. साँवा लिम्बूले लोकतन्त्र संस्थागत हुँदै गएको र जनआकांक्षा पूरा हुने बाटोमा देश अगाडि बढेको बताउनुभयो । “अब राजनीतिक स्थायित्वसहित साामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण चाहिएको छ, कनकाई नगरपालिकाले आफूलाई सामाजिक परिवर्तनमा अब्बल देखाउँदै गएको छ”, उहाँको भनाइ थियो, “अब सामाजिक, आर्थिक विकासमा तीव्रता दिंदै जनताको जीवनस्तर उकास्न सक्नुपर्छ ।”

विशेष अतिथि प्रदेश सभा सदस्य हिरा थापाले स्वच्छ, सफा, हराभरा र समुन्नतिसहितको नगर बनाउनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले झापालाई छिटोभन्दाछिटो खुल्ला दिसामुक्त गरी सामाजिक आर्थिक रुपान्तरणको बाटोमा लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।

 

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकालाई सबै जातजाति, वर्ग, समुदाय र सम्प्रदायका बासिन्दाको अपनत्वसहितको समृद्ध र सुखी नगर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पूर्ण सरसफाइ प्रतिवद्धता समेत प्रस्तुत गर्नुभएको थियो ।

 

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्माले वातावरण तथा सरसफाइ कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याएर कनकाई नगरपालिकाले आफूलाई सरसफाइ प्रवद्र्धनमा अब्बल सावित गरेको उल्लेख गर्नुभयो ।

६८ औं प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको खुल्ला दिसामुक्त घोषणा समारोहमा कनकाई नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजातिका साँस्कृतिक झाँकी र नृत्य समेत प्रस्तुत गरिएको थियो । सो अवसरमा नेवार, लिम्बू, राजवंशी, किराँत, कुमाल, सन्थाल, तामाङ, गुरुङ, भुजेल, मगर, थारु र माझीको साँस्कृतिक झाँकी र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

 

कार्यक्रममा ६० वर्ष उमेर पुगेका पाँच जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गर्नुका साथै विदाइ समेत गरिएको थियो । ।

 

खुल्ला दिसामुक्त अभियान सफल बनाउन योगदान दिने अभियानकर्ताहरु, संघसंस्था, व्यक्ति र निकायहरुलाई सम्मान गरिएको थियो । औपचारिक कार्यक्रम थालनी हुनुपूर्व साँस्कृतिक झाँकीसहित नगर परिक्रमा गरिएको थियो ।

 

९ हजार २ सय ७३ घरधुरी रहेको कनकाई नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्रले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेको हो ।

 

खुल्ला दिसामुक्त अभियान सहजीकरण गर्नुअघि नगरपालिकामा ७ हजार ७ सय ७७ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा बाँकी १ हजार ४ सय ९६ घरधुरीमा शौचालय निर्माण गरिएको थियो ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार