चर्पी बनाउन बारा, पर्सा, सर्लाही र मोरङमा सबैभन्दा कठिन

काठमाडौ : सरसफाइको दृष्टिले सबैभन्दा पछाडि रहेका तराईका १० जिल्ला मध्ये पनि बारा, पर्सा, सर्लाही र मोरङमा सबैभन्दा कठिन रहेको पाइएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति (NSHCC)  को Task Force बैठकका सहभागीले ती चार वटा जिल्लामा सबैभन्दा कम चर्पी बनेको, केन्द्र र जिल्लाबीच राम्रो समन्वय नभएको र बजेट विनियोजन नै कम भएकाले सरसफाइमा राखेको प्रगति हासिल गर्न समस्या हुने बताए ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार बाराका ७१ प्रतिशत घरमा शौचालय बनेका छन्, यस्तै पर्सामा ८५ प्रतिशत, सर्लाहीमा ८३ प्रतिशत र मोरङमा ८६ प्रतिशत नागरिकको घरमा मात्र चर्पी बनेका छन् । ती जिल्लामा अझै हजारौं घरमा शौचालय बन्नै बाँकी छ ।

 

राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सरसफाइ सम्बन्धी सन्देश दिनुपर्ने

देशमा सञ्चालन भइरहेको सरसफाइ अभियानका विषयमा राष्ट्र प्रमुख र सरकार प्रमुख मार्फत भिडियो सन्देश प्रवाह गरिने भएको छ । छिमेकी देश भारतमा प्रधानमन्त्रीले टेलिभिजन मार्फत दिएको सन्देश सरसफाइका लागि निक्कै प्रभावकारी भएकाले नेपालमा पनि राष्ट्रपति र प्रधानमन्त्रीले सरसफाइ सन्देश प्रसारण गर्न लागेको हो ।

यसका लागि बेला बेलामा चर्चा हुँदै आए पनि मूर्त रुप लिन सकेको थिएन । देशमा नयाँ प्रधानमन्त्री चयन भइसकेको र नयाँ राष्ट्रपति चयनका लागि समेत चुनावको मिति तोकिसकेकाले नयाँ राष्ट्रपति तथा प्रधानमन्त्रीले टेलिभिजन मार्फत सरसफाइ सन्देश प्रवाहका लागि जिम्मेवारी दिइसकेको सरसरफाइविद नमस्तेलाल श्रेष्ठले जानकारी दिनुभयो ।

पर्सा — झापा रथयात्रा निकालौं : प्रमुख झा

खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख देबेन्द्र झाले तराईमा सरसफाइ अभियानलाई अझ सशक्त बनाउन पर्सादेखि झापा सम्मको रथयात्रा निकाल्न प्रस्ताव गर्नुभयो । उहाँले यस अभियानले तराईको सरसफाइ अभियान अझ तातिने र चर्पी बनाउन सघाउ पुग्ने बताउनुभयो ।

‘रथयात्रामा सरसफाइ दूत, मन्त्री, सांसद, पत्रकार, सरसफाइ अभियन्तालाई पनि राखौं, यसले सरसफाइलाई थप उचाईमा पु-याउने मेरो विश्वास छ, यस्तो रथयात्रा निकालेपछिको प्रभाव नै छुट्टै हुन्छ भन्ने मलाई लागेको छ । यसले चैत मसान्तभित्र खुला दिसामुक्त घोषणा गर्न बल पुग्छ’ उहाँले भन्नुभयो ।

शाखा प्रमुख झाले सरसफाइ क्षेत्रको बजेट निकासाका लागि आफूले पहल गर्ने, राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति मार्फत सम्बन्धित जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुलाई ओडिएफ घोषणाका लागि पत्राचार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वातावरणीय सरसफाइ शाखाका इञ्जिनियर चेतनारायण श्रेष्ठले खुला दिसामुक्त घोषणा हुन बाँकी जिल्लाहरुको सरसफाइ आंकडा प्रस्तुत गर्नुभएको थियो । उहाँले सबै जिल्लामा गरी अझै १ लाख ९० हजार घरमा शौचालय बनाउन बाँकी रहेको विवरण प्रस्तुत गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार