बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकाले २०७५ साल सम्ममा आफ्नो क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य तोकेको छ । यसका लागि गाउँपालिकाले २०७५ कार्तिक मसान्त वडा नं. १ लाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने भएको छ । यस्तै वडा नं. २ लाई २०७५ साल पुस १५ गते सम्ममा, वडा नं. ३ र ४ लाई फागुन मसान्तसम्ममा, वडा नं. ५ लाई कार्तिक मसान्त सम्ममा र २०७५ माघ मसान्तसम्म वडा नं. ६ लाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने लक्ष्य लिएको छ ।

गेरुवा गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको ‘वडा सचिवहरु र वडा अध्यक्षहरुको पूर्ण सरसफाइ मार्गदर्शन सम्बन्धी तालिम’ पछि जिल्लालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य निर्धारण गरेको हो ।
तालिममा पूर्ण सरसफाइ मार्गदर्शन, २०७३ सम्बन्धी सहजीकरण गर्दै यु.एन ह्याविटाटका जिल्ला संयोजक बिष्णु दवाडीले सरसफाइको सम्बन्ध मानिसको जीवन, स्वास्थ्य, शिक्षा, प्रतिष्ठा, विकास, सभ्यता आदिसँग प्रत्यक्ष जोडिएको हुँदा आफ्नो समुदाय र समग्र गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख अबस्थामा पु-याउन सबैको मस्तिष्कमा गहन चिन्तन र हृदयमा जिम्मेवारीको गहिरो अनुभूति रहनुपर्ने बताउनुभयो ।

उहाँले समन्वय र सहकार्यका माध्यमबाट पूर्ण सरसफाइ अभियानमा प्रभावकारिता ल्याउन समन्वय समितिहरु अझ सशक्त रुपमा अगाडि बढ्नुपर्ने, नियमित रुपमा कार्यको अनुगमन तथा प्रगति समिक्षा गर्नुपर्ने, गाउँपालिकाले सुरक्षित खानेपानीमा शतप्रतिशतलाई सहज पहुँच पु-याउनुका साथै पूर्ण सरसफाइ अभियान सञ्चालन गर्न रणनीतिक योजनालाई छिट्टै कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष जमानसिंह के.सी.ले सरकारले जारी गरेको पूर्ण सरसफाइ मार्गदर्शन सम्बन्धी प्रस्तुतीकरणबाट पूर्ण सरसफाइ अभियानको सम्बन्धमा थप स्पष्ट हुनुका साथै स्थानीय तहको नेतृत्वदायी भूमिका रहने विषयमा समेत जिम्मेवारी बोध भएको बताउनुभयो । उहाँले सबै वडा अध्यक्ष र सचिवहरुलाई पूर्ण सरसफाइ अभियानमा प्राथमिकताका साथ लाग्न अनुरोध गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत भीम बहादुर खत्रीले दीगो पूर्ण सरसफाइ उन्मुख समुदाय विकासका लागि सरसफाइका साथ साथै कृषि, स्वास्थ्य, पोषण, शिक्षा सम्बन्धी क्षेत्रमा पनि नमुना बन्ने गरी वजेट विनियोजन भईसकेको र कार्यान्वयनमा जाने तयारी भईरहेको बताउनुभयो । ‘पूर्ण सरसफाइ उन्मुख अवस्थाको सुनिश्चितता र त्यसको निरन्तरतामा गाउँपालिका नै जिम्मेवार हुने भएकाले यस क्षेत्रमा काम गर्ने अन्य दातृ निकाय तथा सहजीकरण गर्ने संस्थाहरुले पनि गाउँपालिकासँग समन्वय र सहकार्य गरी अगाडी बढ्नुपर्छ’ उहाँले भन्नुभयो ।
त्यसैगरी प्रमुख स्वास्थ्य अधिकृत नारायण भण्डारीले पूर्ण सरसफाइ अभियानका माध्यमबाट सरुवा रोगहरुमा कमी ल्याउन सकिने, स्थानीय स्तरमा पाइने स्रोत साधनहरुको प्रयोग गरी सरसफाइका सुविधाहरु निर्माण तथा प्रयोग गर्न सकिने बताउनुभयो । मानव संसाधन परिचालन गरी सबै जागृत भएरु अगाडि बढेमा मात्र सफल भइने उहाँको भनाइ थियो ।
आई.डि.एस.नेपालका जिल्ला संयोजक तारा बहादुर खातीले गेरुवा गाउँपालिकाको मस्यौदा पूर्ण सरसफाइ रणनीतिक योजनाका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
अभियानको नारा
पूर्ण सरसफाइ हाम्रो अभियान स्वास्थ्य, समृद्धि र शान
गेरुवा गाउँपालिकाको प्रतिबद्धता, दिगोपनमा सधै ध्यान


837 पटक हेरिएको 

