विनोद धौलागिरि, डाँगिबारी (झापा)
हजारौं विद्यार्थीले अध्ययन गर्ने विद्यालयको व्यवस्थापन गर्ने सामुदायिक अगुवाले आफ्नै घरमा सुरक्षित चर्पी नबनाउँदा बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गर्न रोकिइरहेको छ । झापाको बाह्रदशी गाउँपालिकामा पर्ने साविक डाँगिबारी गाउँ विकास समितिमा रहेको गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष साइँला हेमरनले अहिलेसम्म पनि आफ्नो घरमा चर्पी बनाउनुभएको छैन।
“समुदायका धेरैले चर्पी बनाइसक्नुभएको छ, तर जान्नेबुझ्ने, क्षमता र हैसियत भएकाहरुले चर्पी बनाउन अटेर गर्दा बाह्रदशी गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्न सकिएको छैन”, गाउँपालिका अध्यक्ष खड्गसिंह राजवंशीले भन्नुभयो, “पक्की घर भएका, राजनीति गर्ने र यस्तै सामाजिक अगुवाइ गर्नेहरुको घरमा अझै पनि बाँकी छ ।”
सरसफाइ अभियानकर्ताहरु र सञ्चारकर्मीहरु पुगेको केही समयपछि घरमा आइपुग्नुभएका साइँला हेमरनले सरकारले भन्नासाथ आफ्नो घरमा चर्पी बनाउन नसक्ने जीकिर गरिरहनुभयो । कुराकानीकै क्रममा उहाँलाई वडा कार्यालयले चर्पी बनाउनका लागि सिमेण्ट रिङ समेत छुटमा दिएको खुलासा भएपछि उहाँले भन्नुभयो, “चार वटा रिङले चर्पी बन्छ ? सिमेण्ट चाहिंदैन ? प्यान चाहिंदैन ? बलियो पर्खाल लगाउनुपर्छ, इँटा चाहिंदैन ?” नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको सुरक्षित चर्पी निर्माण गरे पुग्ने बताइरहँदा पनि उहाँ सुरक्षित चर्पी बनाउन तयार हुनुभएन ।
“विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहिसकेका यस्ता नेताले चर्पी नबनाएर आज हाम्रो गाउँको बेइज्जत भैसकेको छ”, स्थानीय सरसफाइ अभियानकर्ता तारादेवी निरौलाले सुन्निएको खुट्टा देखाउँदै भन्नुभयो, “कार्तिकदेखिको निरन्तर हिडाइले खुट्टा सुन्निइसके, तर साइँला भाइले चर्पी बनाउँदैनन् । चर्पी बनाउनका लागि उत्प्रेरित गर्न वडाले चर्पी बनाउने रिङ सहयोगस्वरुप दियो, तर पनि बनाएका छैनन् ।”
घर छेउमा खर र बोराले बारेर असुरक्षित रुपमा दिसा पिसाव गरिरहेका साइँला हेमरन विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षमात्र नभै राष्ट्रिय राजनीतिक दलको गाउँ तहको नेता हुनुहुन्छ । संघीय र प्रदेश सभा निर्वाचनको क्रममा घरमा टाँगिएको पार्टीको चुनाव चिन्ह सहितको झण्डा अझै निकालिएको छैन ।
दलको नेता भएर पनि किन राष्ट्रिय अभियानमा असहयोग गर्नुभएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा हेमरनले भन्नुभयो, “म विपन्न छु, साथमा पैसा छैन । केले बनाउनु चर्पी ?” आफूलाई विपन्न देखाइरहँदा उहाँको घर अगाडि आँगनको बीचमा छाप्रोमुनी चोयाको भकारीभरी करिब ५० मन धान भने देखिइरहेको थियो । कुराकानीको अन्तमा हेमरनले चार दिनभित्र चर्पी बनाइसक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चर्पी बनाउने रिङ झाडी र चौरमा
झापा जिल्लामा पाँच वर्षअघि नै चर्पी बनाउने चटारो सुरु भए पनि यसले निरन्तरता पाउन सकेन । त्यसैले, न अनुदानमा दिएका रिङ र ढक्कनले चर्पी बने, न त घरधनी आफैले किनेका रिङ नै सदुपयोग भए । “त्यसबेला डाँगिबारीमा पनि सरसफाइको तालिम दिइयो, दुई चार जनाले चर्पी बनाउनका लागि सामान किने, तर उनीहरुको पछि लाग्न नसक्दा चर्पी बनेन”, स्थानीय तारादेवी निरौला प्रश्न गर्नुहुन्छ, “अहिले खुट्टा नै खिइनेगरी हिड्दा त अझै दुई चार घरमा चर्पी बनाउन बाँकी छन्, त्यतिबेला कसरी बनून् चर्पी ?”
चार वर्षअघि गाउँ तहमा आयोजना गरिएको तालिममा भाग लिएपछि चर्पी बनाउनका लागि हाल बाह्रदशी गाउँपालिका, वडा नं. ७ की सोमसरी राजवंशीले किनेर राखेको रिङभित्र उम्रिएको अम्बा हुर्किएर फल लागिसकेको छ, तर सोमसरीको घरमा चर्पी बनेको छैन । “चार वर्षअघि किनेको हो, चर्पी बनाउने भन्दाभन्दै यो पुरानो घर नै बेचिसक्यौं”, राजवंशीले भन्नुभयो, “नयाँ घर चर्पी सहित बनाउँदै छौं ।”
सोमसरीमात्र होइन, वडा नं. ७ मा तीन वर्षअघि लक्षित वर्गको बजेटबाट वितरण गरिएका चर्पी बनाउने सामग्री अहिले पनि घरको आँगन र चौरमा मिल्काइएका छन् । कुनै फुटेर प्रयोग गर्न नसकिने अवस्थामा छन् भने कुनै प्रयोग गर्न सकिने अवस्थामा छन् । त्यसबेला कसलाई ती सामग्री वितरण गरियो र कुन शर्तमा गरियो भन्ने तथ्यांक अद्यावधिक छैन । “त्यतिबेला कसले बाँढ्यो, कतिलाई बाढियो भन्ने तथ्यांक स्पष्ट छैन, जे भए पनि नेपाल सरकारकै रकमको दुरुपयोग हो”, वडा नं. ७ का अध्यक्ष मित्रप्रसाद भट्टराईको भनाइ छ ।
साविकका चकचकी, डाँगिबारी र राजगढ गाविस मिलेर बनेको बाह्रदशी गाउँपालिका ७ हजार ९ सय ७२ घरधुरी रहेका छन् । २ हजार ३ सय ८२ घरधुरी रहेको चकचकी ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र सहारा नेपालको सहजीकरणमा हालै खुल्ला दिसामुक्त घोषणा भएको छ ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा अभियान सहजीकरण भैरहेको १ हजार ८ सय ८५ घरधुरी रहेको डाँगिबारीका ३५ घरमा शौचालय निर्माण गर्न बाँकी छ भने ३ हजार ७ सय ५ घरधुरी रहेको राजगढमा २ सय ५० घरमा सुरक्षित शौचालय निर्माण गर्न बाँकी छ ।
डाँगिबारीलाई यही फेब्रुअरी महिनाको २८ तारिखसम्म खुल्ला दिसामुक्त अवस्थामा पु¥याउने र १५ दिनभित्र राजगढलाई समेत खुल्ला दिसामुक्त अवस्थामा पु¥याई फाल्गुण महिनाभित्रै बाह्रदशी गाउँपालिकालाई खुल्ला दिसामुक्त गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।