पूर्ण सरसफाइ उन्मुख घोषणा पछि डाँडाबजार सरसफाइमा झनै सक्रिय बन्दै

🔗
3
Shares

धनकुटा : पूर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि धनकुटाको डाँडाबजारमा सरसफाइ सम्बन्धी क्रियाकलापलाई अझ तीब्र पारिएको छ । डाँडाबजारमा हरेक आइतबार सरसफाइ अभियान सञ्चालन हुने गरेको छ । गाउँमा सरसफाइ गरी जम्मा भएको फोहोरलाई डम्पिङ साइडमा जम्मा गर्ने गरिएको छ । डाँडाबजारमा संकलित फोहोरको व्यवस्थापन गर्न सामुदायिक वनमा डम्पिङ साइट निर्माण भइरहेको डाँडाबजारका खगेन्द्र थापाले बताउनुभयो ।

 

‘हरेक आइतबार सरसफाइमा जुट्ने गरेका छौं, फोहोरमैला नियन्त्रण सम्बन्धी कार्यक्रमहरु निर्माण भइरहेका छन्, फोहोरमैला जथाभावी फाल्ने बानीलाई निरुत्साहित गर्नका लागि चेतनामूलक कार्यक्रमहरु पनि भइरहेका छन्’ थापाले भन्नुभयो ।

डम्पिङ साइड निर्माणको लागि गाउँपालिकाले १ लाख ५० हजार उपलव्ध गराएको वडा अध्यक्ष पलकबहादुर बस्नेतले बताउनुभयो । गाउँपालिकाबाट वडाका लागि सरसफाइ सम्वन्धी परामर्श र सहयोग निरन्तर रुपमा उपलब्ध भइरहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

 

धनकुटाको डाँडाबजार सरसफाइको हिसाबले जिल्लाकै उत्कृष्ट गाउँ हो । पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएको सोह्र महिनापछि डाँडाबजारलाई २०७४ साल मंसिर ५ गते पूर्ण सरसफाइ उन्मुख गाउँ घोषणा गरिएको थियो । पूर्ण सरसफाइ उन्मुख गाउँ बनाउनका लागि पर्डेप नेपाल धनकुटा, सागुरीगढी गाउँपालिका र डाँडाबजारले संयुक्त रुपमा सरसफाइ अभियान सञ्चालन गरेका थिए ।

फण्डवोर्डको आर्थिक तथा पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत निर्मित ओख्रेबजार खानेपानी आयोजनाले पनि डाँडाबजारलाई सरसफाइयुक्त बनाइराख्न मद्दत मिलेको डाँडाबजारका बासिन्दा बताउँछन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार