सिरहा : सिरहा सरसफाइ सम्मेलन भएको ४ बर्ष पूरा भएको छ । सन् २०१५ भित्रै सिरहालाई खुला दिसामुक्त घोषणा गर्ने प्रतिबद्धता सहित १५ बुँदे घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न भएको चौथो बर्षमा सिरहा खुला दिसामुक्त घोषणाको संघारमा छ ।
सरसफाइ सम्मेलनले तोकेको चार बर्ष ढिला गरी खुला दिसामुक्त घोषणा हुन लागेको सिरहाले अरु धेरै कुरा कार्यान्वयन गर्न बाँकी छ ।
सिरहा सरसफाइ सम्मेलनले घोषणा गरेका बुँदाहरु :
१. यस सम्मेलनले पारित गरेका साझा सहमति, निष्कर्ष, संकल्प र कार्ययोजनालाई इलाका, नगरपालिका, गाविस, वार्ड टोल समेतमा सम्मेलन, गोष्ठी र बैठक आयोजना गरी २०७० माघ मसान्त भित्रमा सबै घरपरिवारमा पु-याउने छौं र सबै तहमा ठोस कार्ययोजना बनाउँदै कार्यान्वयनमा उतार्नेछौं ।
२. सरसफाइलाई सामाजिक आन्दोलनका रुपमा अगाडि बढाउन स्थानीय तहमा रहेका व्यक्ति, समूह, संस्थाबाट सम्भाव्य स्रोतको पहिचान र परिचालन गर्नेछौं । त्यसैगरी गाविसको बार्षिक बजेटबाट कम्तीमा २५ प्रतिशत, नगरपालिकाबाट २५ र जिल्ला विकास समितिबाट २५ प्रतिशत रकम सरसफाइका लागि विनियोजन गर्नेछौं ।
३. चर्पी बनाई प्रयोग गर्ने स्वभिमान नागरिकको नितान्त आफ्नो दायित्वको काम हो । तसर्थ चर्पीमा अनुदान लिनेदिने र त्यसका लागि पर्खेर बस्ने परिपाटीलाई आजको दिनबाट गलत प्रबृत्ति घोषणा गर्दछौं । तर हाम्रो समाजमा अशक्त र असमर्थ अवस्थामा रहेका परिवारलाई स्थानीय समूह र गाविस तथा नगरपालिका स्तरीय समन्वय समितिहरुको विश्लेषणात्मक निर्णयबाट मानवीय सहयोगका रुपमा आवश्यक सहयोग गर्ने ।
४. २०७० चैत्रभित्रमा सबै गाविस तथा नगरपालिकाबाट सबै वर्ग, लिंग, समूह संस्था र सरोकारवालाहरुलाई परिचालन र स्रोतको पहिचान तथा परिचालन समेटिएको कार्ययोजना सहितको रणनीतिक सरसफाइ योजना बनाएर कार्यान्वयनमा उतार्नेछौं ।
५. हामी सबै सरोकारवालाहरु जिल्ला तहमा जिल्ला समन्वय समिति, नगरमा नगरपालिका समन्वय समिति र गाविसहरुमा गाविस समन्वय समितिमा सक्रिय भूमिका निर्वाह गर्नेछौं । महिनाको कम्तीको एक पटक बैठक बस्ने र साझा सहकार्यको कार्ययोजना तयार गरी सहकार्यमा कार्यान्वयनमा उतार्नेछौं ।
६. आजका दिनबाट सरकारी तर्फका शिक्षा, स्वास्थ्य, खानेपानी, जिविस लगायतका निकायहरु र गैर सरकारी संस्थाहरुबाट प्राप्त हुने सरसफाइ प्रबद्र्धनको बार्षिक कार्यक्रम जिल्ला तहमा जिल्ला समन्वय समिति, नगरपालिका तहमा नगर समन्वय समिति र गाविसमा समन्वय समितिको कार्ययोजना समावेश गरेर मात्र कार्यान्वयन गर्नेछौं ।
७. चर्पी निर्माण र प्रयोग मानव सभ्यताको पहिलो शर्त भएकाले आजका दिनबाट कुनै पनि उपभोक्ता समितिको सदस्य बन्नमा, राजनीतिक दलको सदस्यता प्राप्तिमा, संघसंस्थाको सदस्य प्राप्तिमा, सरकारी गैर सरकारी तथा निजी क्षेत्रमा सेवा प्राप्त गर्नमा चर्पीलाई आधारभूत योग्यताको मापदण्डका रुपमा लिनेछौं ।
८. २०७० फागुन मसान्तभित्रमा सबै गाविस र नगरपालिका सरसफाइ परिचयपत्रलाई अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउनेछौं ।
९. सबै सरकारी तथा गैरसरकारी कार्यालयहरु स्वास्थ्य संस्था, विद्यालय, क्याम्पस, मदरसा, धार्मिक स्थल र सार्वजनिक स्थलहरुमा साबुन पानीले हात धुने सुविधा सहितको बाल, अपांग र लैगिकमैत्री चर्पी र युरिनल सहितको चर्पी निर्माण, प्रयोग र मर्मत सम्भार साथै महिनावारी स्वच्छता सम्बन्धी व्यवस्था गर्नेछौं ।
१०. हरेक बर्ष सरसफाइ अभियानमा विशेष योगदान गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने परिपाटीलाई सबै तहबाट निरन्तरता दिनेछौं ।
११. २०७० साल चैत्र मसान्तसम्मा सबै गाविस, नगरपालिका र जिल्ला तहमा खानेपानी, सरसफाइ र स्वच्छताका सूचनाहरु अद्यावधिक गर्नेछौं र यसलाई निरन्तरता दिनेछौं ।
१२. २०७० फागुन महिना भित्रमा जिल्ला, नगरपालिका र गाविस तहमा प्रशिक्षक टिगरर तथा सहजकर्ता तयार गरी परिचालन गर्नेछौं ।
१३.सरसफाइ प्रबद्र्धनलाई अगाडि बढाउन संचार क्षेत्रको विशेष भूमिका हुने भएकाले संचार पत्रकार समूहले समन्वय समितिहरुको सहकार्यमा विशेष कार्ययोजना बनाएर प्रचार प्रसार र प्रबद्र्धनलाई व्यापक र प्रभावकारी बनाउनेछौं ।
१४. सरसफाइको अभियान सँगै खानेपानी सेवाको स्थायी आपूर्ति तथा बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि स्थानीय निकायको पहलमा विकासका साझेदारहरु सरकारी, गैरसरकारी, निजीक्षेत्र, नागरिक समाज तथा राजनैतिक दलको सहकार्यमा संयुक्त कार्ययोजना बनाई कार्यान्वयन गर्नेछौं ।
१५. सन् २०१५ भित्र सिरहा जिल्लाका सम्पूर्ण गाविस तथा नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै सिरहा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सामूहिक प्रतिबद्धता जाहेर गर्दछौं ।


694 पटक हेरिएको 

