सल्यान : सल्यानको प्रतिभा मावि कुपिण्डेदहका छात्रछात्राहरु हिजोआज दिसापिसाब गर्न जंगल जंगल चाहर्दैनन् । उनीहरु स्कुल समय भित्र कक्षाकोठामै भेटिन्छन् । विद्यालयमा पानीको अभावमा दिसापिसाब लाग्न साथ जंगलतिर दौडिने विद्यार्थी विद्यालयमा पानीको व्यवस्था भएपछि कक्षाकोठामै अडिएका हुन् ।
विद्यालयमा आकाशेपानी संकलन प्रविधिबाट पानीको व्यवस्था मिलाएपछि शौचालय प्रयोगमा आएको हो । कुनै समय पढाउनका लागि शिक्षक कक्षाकोठा पुग्दा रित्तै हुने कक्षाकोठा हिजोआज विद्यार्थीले भरिभराउ हुन्छन् ।
चर्पीमा दिसापिसाब गरुँ भने अति नै दुर्गन्धित, जंगलमा जाँदा पनि आफन्तले देख्ने डर, कहीं जाँदा पनि सुख थिएन प्रतिभा माविका विद्यार्थीलाई । झनै महिनावारी भएको समयमा धेरै छात्राहरुले कक्षा समेत छाड्ने गर्थे । प्रतिभा माविकी एलिसा डिसी भन्नुहुन्छ ‘विद्यालयमा हाजिर नहुँदा पाठ छुट्ने गथ्र्यो, कतिपय अवस्थामा शिक्षकको पिटाई समेत खाएँ आज भोलि त पानीका कारण उब्जिने सबै समस्या हल भएको छ ।’
विद्यालयमा पानी उपलब्ध भएपछि विद्यालय आसपासको वातावरण पनि सफा सुग्घर हुन थालेको छ । चर्पी प्रयोगमा आएपछि खुल्ला दिसापिसाब पनि नियन्त्रण भएको छ ।
आकाशेपानी संकलनबाट अझ विद्यालयका प्रधानाध्यापकलाई हाईसन्चो भएको छ । यसअघि जस्तो पानी बोकेर विद्यार्थीलाई खुवाउनुपरेको छैन भने विद्यार्थी पढाउन जंगल जंगल खोज्दै हिड्नु पनि परेको छैन ।
विद्यालयका प्रधानाध्यापक देवीलाल नेपाली भन्नुहुन्छ ‘विद्यालयमा अहिले १ लाख लिटर क्षमता भएको ट्यांकी निर्माण गरी आकाशेपानी संकलन गरेका छौं । अहिले त पानी भएपछि बालबालिका बाहिर जाँदैनन् विद्यालय परिसरमै भएकाले हामीलाई पढाउन पनि सजिलो भएको छ, त्यो बेला विद्यार्थी जंगलतिर खोज्दै हिड्नुपथ्र्यो, विद्यार्थीलाई भनेको समयमा पढाउन नपाउँदा यसले नतिजामा पनि प्रभाव पाथ्र्यो ।’
विद्यालयमा पानीको व्यवस्था नहुँदा यत्तिका धेरै समस्याहरु आउँछन् र विद्यालयको शैक्षिक गुणस्तरलाई समेत प्रभावित बनाउँछ भन्ने कमैले सोचेका हुन्छन् । प्रधानाध्यपक नेपाली भन्नुहुन्छ ‘विद्यालयमा खानेपानीको अनिवार्य व्यवस्था गर्नुपर्दछ, विद्यार्थी संख्या बढ्दै गएकाले हामी अर्को भवनको पानी समेत संकलन गर्ने योजना बनाइरहेका छौं ।’
अहिले विद्यालयको ३ वटा भवनको पानी संकलन गरिएको छ । आकाशे पानी संकलन गर्न विद्यालयलाई पार्ड नेपाल नामक गैरसरकारी संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।


847 पटक हेरिएको 

