बर्दिया : बर्दियाको गुलरियामा ठोस तथा तरल फोहोर व्यवस्थापन, करेसाबारी, पूर्ण सरसफाइ तथा इकोसान सम्बन्धी जिल्ला स्तरीय तालिम शुरु भएको छ । तालिमको सहजीकरण पिसाब मास्टर भनेर चिनिने श्रीरेन्द्र पोखरेलले गरिरहनु भएको छ ।
मानिसको दिसा र पिसाबलाई अलग अलग गरेर मलको रुपमा प्रयोग गर्ने पद्धतिलाई इकोसान पद्धति भनिन्छ । यो पद्धति अपनाउनका लागि दिसा र पिसाब अलग अलग जम्मा हुने गरी चर्पी निर्माण गरिएको हुन्छ । पिसाबलाई ट्यांकी, जर्किन तथा बोतलमा समेत जम्मा गरी एक महिना राखे पछि बिरुवाको आकार तथा बनावट अनुसार २ वा ३ भाग पानी मिसाएर हालिन्छ । एक जना मानिसले एक बर्षमा ५५ किलो दिसा गर्छ भने ५५० लिटर पिसाब फेर्ने गर्छ ।
एक जना स्वस्थ मानिसले गर्ने दिसा मार्फत बर्षभरिमा १३० ग्राम नाइट्रोजन, ३८८ ग्राम फस्फोरस, ४०७ ग्राम पोटास विसर्जन गर्छ । यस्तै बर्षभरिमा एक व्यक्तिले गरेको पिसाबमा ४ किलो नाइट्रोजन, ४०० ग्राम फस्फोरस र १ किलो पोटासको मात्रा रहेको हुन्छ । तालिममा बर्दिया जिल्लाको पूर्ण सरसफाइको अबस्थाका विषयमा सव डिभिजन प्रमुख दीलिप कुमारले सहजीकरण गर्नुभयो ।
तालिममा स्वागत मन्तव्य व्यक्त गर्दै यु.एन ह्याविटाटका जिल्ला संयोजक विष्णु दवाडीले इकोसानलाई व्यवहारमा उतारेर बर्दियाले पूर्ण सरसफाइ अभियानको गतिलाई अझ उचाईमा पुर्याउन चुनौति थपिएको बताउनुभयो ।
तालिममा नेपाल पत्रकार महासंघका अध्यक्ष, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन, आई.डि.एस नेपालका जिल्ला संयोजक, कार्यक्रम अधिकृत, एरिया कोओर्डिनेटर बढैयाताल र गेरुवाका वडाबाट एक एकजना र बाँकी सबै गाउँपालिका, नगरपालिका कार्यालयबाट एक एक जना गरी ३० जनाको सहभागिता रहेको छ ।
तालिम आइइ.डि.एस. नेपाल र मायुस बर्दियाको सहजीकरण तथा यु एन ह्याविटाटको सहयोगमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको हो ।
तालिममा पिसाबको मलको प्रयोग, स्वस्थ गाउँ घोषणा सम्बन्धी भिडियो प्रदर्शन गरिएको थियो । तालिम आज सकिदैछ ।


991 पटक हेरिएको 

