डोटी : डोटीमा सुनौला हजार दिनका ३० जना आमालाई फिल्टर वितरण गरिएको छ । गर्भावस्था देखि २ वर्ष सम्म उमेर पुगेका बालबालिकाका आमालाई युएसएआईडीको आर्थिक सहयोगमा सोर्स नेपालले सञ्चालन गरेको सुआहारा कार्यक्रम दोस्रो चरण अन्तर्गतको कार्यक्रमबाट फिल्टर वितरण गरिएको हो ।
सुनौलो हजार दिनका आमाहरुलाई सुआहाराका वास अधिकृत कृष्ण चापागाई तथा दिपायल सिलगुढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष बोहराले फिल्टर वितरण गर्नुभयो ।

गर्भावस्था र त्यसपछिको दुईबर्षसम्म आमा र शिशु दुवैका लागि पोषिलो खानेकुरा आवश्यक पर्ने भएकाले सुरक्षित पानी पिउन सकियोस् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको सोर्स नेपाल डोटीका सुपरभाईजर हेम बमले बताउनुभयो । ‘सुरक्षित पानीको अभावमा पोषणयुक्त खाना खाए पनि शरीरले सोस्न नसक्ने र झाडापखाला तथा पानीजन्य रोगका कारण कुपोषण हुने जस्ता समस्या भएकाले सुरक्षित पानीको सुनिश्चितताका लागि फिल्टर गरिएको हो’ उहाँले भन्नुभयो ।
गर्भवती भएपछि बच्चा २ वर्षको नहुन्जेलसम्म बच्चाको ८० प्रतिशत दिमागको बृद्धि विकास हुने भएकाले त्यतिबेला पोषणयुक्त खानेकुरा अति आवश्यक हुने उहाँले बताउनुभयो ।
खानेपानी फिल्टर प्राप्त भएपछि खानेपानी शुद्धिकरण गरेर मात्र पिउने फिल्टर वितरण कार्यक्रममा पुगेकी दिपायल सिलगढी नगरपालिका ६ की डम्मरी देवी नेपालीले बताउनुभयो ।
सुआहारा कार्यक्रम अन्तर्गत सोर्स नेपालले डोटीका २ नगरपालिका र ७ वटा गाउँपालिकामा पोषण, स्वास्थ्य र सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सन् २०१५ देखि सुरु भएको कार्यक्रम २०२१ को मार्चसम्म सञ्चालन हुने सुआहारा कार्यक्रमले जनाएको छ ।


1813 पटक हेरिएको 

