विनोद कुमार महतो, धनुषा
धनुषामा खुला ठाउँमा दिसा गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन् । शहिदनगर नगरपालिका–१ बालाबाखरमा बाटोमा दिसा गर्नेहरुलाई पक्राउ गरिएको हो । प्रहरी सहितको अभियान टोलीले अहिलेसम्म ५० बढीलाई नियन्त्रणमा लिएर छाडेका छन् ।
प्रहरी सहितको खुला दिसामुक्त अभियान टोलीले साँझ विहान गस्ती गर्दै आएको छ । गस्ती गर्ने क्रममा खुला रुपमा दिसा गरिरहेकाहरुलाई भेटेमा पक्राउ गर्ने गरेको र सचेत गराउँदै जरिवाना लिएर छोड्ने गरेको अभियान टोलीका महादेव पटेलले जानकारी दिनुभयो ।
खुल्ला ठाउँमा दिसा गर्नेहरुसँग सरसफाइ समितिको निर्णयानुसार जरिवाना लिने गरेको प्रहरीले जनाएको छ । अभियानको क्रममा गस्ती टोलीलाई देख्ने बित्तिकै खुला रुपमा दिसा गर्नेहरु कुलेलाम ठोक्ने गरेको पटेलले बताउनुभयो ।

धनुषाकै कमला नगरपालिका–५ लक्कडमा पनि खुला ठाउँमा दिसा गर्नेहरुलाई सम्झाई बुझाई पठाउने गरिएको छ । गस्ती टोलीले उनीहरुले पानी बोक्ने लोटा, बोतल खोस्ने र सम्बन्धित ठाउँमै सचेत गराउने गरिएको छ । लक्कडमा उनीहरुलाई पक्राउ नगरी लोटा, बोतल, डवा खोसेर आइन्दा खुला ठाउँमा दिसा नगर्ने र चर्पीमा मात्र दिसा गर्ने प्रतिबद्धता जनाउन लगाएर छोड्ने गरिएको सरसफाइ अभियन्ताहरुले बताएका छन् ।
धनुषाको लक्कड तथा बालाबाखर लगायतका ठाउँमा जिएसएफ यूएन ह्याविट्याटको साझेदारीमा समाज उत्थान युवा केन्द्र जनकपुरले सरसफाइ अभियानको सहजीकरण गर्दै आएको संस्थाका वास अफिसर सुजित कुमार मण्डलले जानकारी दिनुभयो ।

प्रदेश नं. २ मा धनुषा तेस्रो स्थानमा
सरसफाइ अभियानको क्रममा धनुषामा अहिले सम्म ९१ प्रतिशत नागरिकको घरमा चर्पी बनिसकेको डिवाससिसिका कार्यदल संयोजक विजय कुमार यादवले जानकारी दिनुभयो । धनुषा जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न अब ९ प्रतिशत घरमा चर्पी निर्माण गर्न बाँकी छ ।
धनुषा जिल्लामा हालसम्म साविकका १०१ गाविस मध्ये ५३ वटा गाविस खुला दिसामुक्त घोषणा भएका छन् । यस्तै १० वटा साविकको गाविसमा खुल्ला दिसामुक्त क्षेत्र घोषणाका लागि जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अनुगमन गरिसकेको छ ।
बाँकीमा अभियान तिव्रताका साथ जारी रहेको जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ । कुल १ लाख ४२ हजार ३ सय २१ घरधुरी रहेको धनुषामा हालसम्म १ लाख २८ हजार ३ सय ४४ घरधुरीमा चर्पी निर्माण भईसकेको छ भने १३ हजार ९ सय ७७ घरधुरीमा चर्पी निर्माण गर्न बाँकी रहेको डिवाससिसिको तथ्यांक छ ।
यसरी प्रदेश नं. २ को आठ वटै जिल्लामा धनुषा अहिलेको सरसफाइ तंथ्याक अनुसार तेस्रो स्थानमा रहेको छ । आठवटै जिल्लामा सिरहा जिल्ला प्रदेशको पहिलो खुल्ला दिसामुक्त जिल्ला हुन पुगेको छ यद्यपी औपचारिक घोषणा हुन बाँकी नै रहेको छ । त्यस्तै सप्तरी जिल्ला दोस्रो स्थानमा रहेको छ ।
अभियान टोली जाने वितिकै फेरी बाहिर दिसा
यसैबीच आफ्नो घरमा चर्पी बनाएर पनि प्रयोग नगरी बाहिरै खुल्ला स्थानमा दिसा गर्न जाने परिपाटी अझैसम्म कायम नै देखिएको छ । चर्पी बनाएर पनि चर्पी मात्र दिसा गर्न जाने बानी व्यवहारमा परिवर्तन नआएकोले अभियान थप चुनौतीपूर्ण बन्दै गएको ससरोकारवालाहरु बताउँछन् ।
पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत पहिलो चरणमा खुल्ला दिसामुक्त अभियानमा चर्पी निर्माण मात्र बढी जोड दिएकोले पनि चर्पी निर्माण गरेर मान्छेहरु खुल्लामा नै जाने गरेको देखिन्छ । सरकारको लक्ष्य अनुसार पहिला एक घर एक चर्पी निर्माण गर्नु रहेको भएपनि चर्पी निर्माणसँगै यसको प्रयोग सुनिश्चितता र बानी व्यवहारमा परिवर्तनका लागि नियमित साँझ विहानको गस्ती गर्नुपर्ने अवस्था रहेको अभियन्ताहरु बताउँछन् ।
अभियानीहरु केही दिन नियमित गस्ती गरेर गाउँ टोलको सडक सफा भएको देखिन्छ तर अभियान टोली जाने वितिकै फेरी बाहिर दिसा गर्ने बानीले खुला दिसा गर्नेलाई भन्दा देख्नेले लज्जाबोध गर्नुपर्ने अवस्था छ ।
यसलाई सम्बन्धित सरसफाइ समिति र गाउँबासिन्दाले पनि चासोका साथ लिनुपर्ने देखिन्छ । तर स्थानीय निकायले यो काम अभियन्ताहरुको रहेको भन्दै अभियानप्रति अपनत्व लिन ढिलाई गरेकोले अभियान थप चुनौतीपूर्ण बन्दै गएको कतिपयको भनाई छ ।
यो सबैको अपनत्व राख्नुपर्ने अभियान रहेकाले सबैले एकसाथ हातेमालो गरेर अभियानलाई सफल बनाउनुपर्ने देखिन्छ । किनकी सरसफाइ भनेकै आफ्नै लागि हो ।


792 पटक हेरिएको 

